काठमाण्डु – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका २ समूहबीच कुटाकुट भएको छ ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस एकाइ गठन गर्न भन्दै बिहीबार क्याम्पस पुगेको अवस्थामा अर्को पक्षले आक्रमण गरेको छ ।
सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थीबाट वरिष्ठ नेता डा. शेखर कोइराला पक्षका विद्यार्थीले कुटाइ खाएका छन् । क्याम्पसमा एकाइ कमिटी गठन गर्न लागेको भन्दै क्याम्पसको स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले पोखरेलमाथि बञ्चरो, तरवार र लाठीले प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते मोरङ जिल्ला सभापति पोखरेल र सदस्य आयुष दाहालको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघिदेखि नै दुवै समूहबीच विवाद हुँदै आएको थियो ।
बिहीबार बिहान स्ववियु निर्वाचनको भागबण्डा मिलाउनेबारे भइरहेको छलफलको क्रममा हात हालाहाल भएपछि घटना बल्झिएको बताइन्छ ।




प्रतिक्रिया