काठमाण्डु – नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरल/कन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट सरकारले खारेज गरेको छ ।
मन्त्रिपरिषद् बैठकले निलो नम्बर प्लेट खारेज गर्ने निर्णय गरेको हो ।
अवैतनिक कन्सल जनरल/कन्सल सम्बन्धी अन्तर्राष्ट्रिय कानून, पारस्परिकता, अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९ हालको प्रचलनबमोजिम नम्बर प्लेट खारेज गरिएको छ । निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरूपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले निर्णय गरेको छ ।
हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनहरूलाई निजी सवारी साधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग यस निर्णयको कार्यान्वयनको लागि आवश्यक समन्वय हुनेछ ।
अवैतनिक कन्सल जनरल/कन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख/सरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहनेछ ।




प्रतिक्रिया