नुवाकोट बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाण्डु ल्याइयो

नुवाकोट बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटबाट काठमाण्डुतर्फ आउँदै  गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाण्डु ल्याइएको छ ।

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाण्डु जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाण्डु ल्याइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ । बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए ।