काठमाण्डु – नुवाकोट धेरै नेता भएको जिल्ला हो । कांग्रेसका दुई समूहका कारण पनि यो जिल्ला चर्चामा आउँछ । कांग्रेस नेताहरू रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी जिल्लामा चर्चित छन् । नुवाकोट कांग्रेसमा महत र केसी परिवारबीच लामो समयदेखि मतभेद चलिरहेको छ ।
एमालेका नुवाकोटे नेता महेन्द्रबहादुर पाण्डे अहिले ओझेलमा छन् । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीको गृहजिल्ला पनि नुवाकोट नै हो । जिल्लामा दुई नगरपालिकासहित १२ वटा स्थानीय तह छन् । एमाले, कांग्रेस र माओवादी केन्द्रबीच चुनावी प्रतिस्पर्धा देखिन्छ । गत स्थानीय चुनावको परिणामका आधारमा नुवाकोटमा कांग्रेस सबैभन्दा ठूलो दल हो ।
उसले सातवटा पालिकामा जित निकालेको थियो । एमालेले तीन र माओवादीले दुई तहमा जिते । कांग्रेसले शिवपुरी, सूर्यगढी, किस्पाङ, तादी, दुप्चेश्वर र मेघाङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । उसले लिखु गाउँपालिकाको अध्यक्ष र पञ्चकन्याको उपाध्यक्ष पनि जितेको थियो । एमालेले विदुर नगरपालिकाको मेयर–उपमेयर, बेलकोटगढी नगरपालिकाको मेयर तथा तारकेश्वर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जित्यो । माओवादीले ककनीको अध्यक्ष–उपाध्यक्ष, पञ्चकन्याको अध्यक्ष तथा बेलकोटगढी नगरको उपमेयर जितेको थियो ।
गत चुनावमा जिल्लाका अधिकांश पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । त्यसैले दुई दल जता मिल्छन् उसैले नै अधिकांश पालिका जित्ने अवस्था हुन्छ । आगामी वैशाख ३० गते हुने चुनावका लागि जिल्लामा खिचडी खालको गठबन्धन बनेको छ । केही पालिकामा कांग्रेस र माओवादी तथा केहीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ । दुई नगरपालिकाको प्रमुख कांग्रेस र माओवादीले बाँडेका छन् । कांग्रेसले विदुरको मेयर र बेलकोटगढीको उपमेयर लिएको छ । माओवादीले बेलकोटगढीको मेयर र विदुरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ ।
माओवादीका शीर्ष नेता स्वर्गीय पोस्टबहादुर वोगटीको छोरी प्रभा विदुरको उपमेयरमा उठेकी छिन् । तारकेश्वर गाउँपालिकामा पनि यिनै दुई दलबीच तालमेल भएको छ । तादी र सूर्यगढीबाहेकका गाउँपालिकामा माओवादी र एकीकृत समाजवादी मिलेका छन् । कांग्रेस बलियो रहेको किस्पाङमा एमाले र माओवादीले गठबन्धन गरेका छन् ।
गत निर्वाचनको नतिजा र अहिले भएको गठबन्धन हेर्दा जिल्लामा कांग्रेस नै फाइदामा देखिन्छ । एमालेमा आएको विभाजनले पनि उसलाई सहज भएको छ ।
एमालेले भने अघिल्लोपटक जितेका दुवै नगरपालिका गुमाउनुपर्ने सम्भावना छ । किनकि बेलकोटगढीमा एक्लै लडेर पनि माओवादीले कम मतान्तरले मेयर गुमाएको थियो । विदुरमा कांग्रेस र माओवादी मिल्दा एमालेको भन्दा बढी हुन्छ । तारकेश्वरमा एमाले केही मजबुत छ । त्यहाँ पनि कांग्रेस र माओवादी मिलेकाले एमालेलाई सहज छैन । यसरी हेर्दा नुवाकोटमा यसपटक पनि कांग्रेसले धेरै स्थानीय तह जित्ने निश्चित देखिन्छ । एमालेलाई भने नोक्सानी हुन सक्छ ।
गठबन्धन कार्यान्वयन भए उसले पहिले जितेका तीनवटै पालिका गुमाउन सक्छ । यद्यपि, पहिले हारेका लिखु र ककनीमा भने एमालेको सम्भावना छ । माओवादीले बेलकोटगढीमा जित निकाले पनि पहिले जितेका पालिका बचाउन सक्ने–नसक्ने प्रस्ट छैन । तर, उसले त्यसका लागि एकीकृत समाजवादीसँग तालमेल गरेको छ । नुवाकोटमा आगामी चुनावका लागि २ लाख ३७ हजार ४ सय ३४ मतदाता छन् । तीमध्ये १ लाख २२ हजार ४ सय२ पुरुष र १ लाख १५ हजार २९ महिला छन् ।
















प्रतिक्रिया