जेनजीका नाममा अराजकता मच्चाउनेहरूलाई कारवाही नभए प्रतिकार गर्ने फोर्सको चेतावनी

जेनजीका नाममा अराजकता मच्चाउनेहरूलाई कारवाही नभए प्रतिकार गर्ने फोर्सको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेसनल भोलिन्टियर्स फोर्सले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा भएको बेलुन प्रहारप्रति गम्भीर आपत्ति जनाएको छ ।

बस्नेत राष्ट्रिय युवासंघ नेपालको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनको सवारीमाथि भएको प्रहार घटनाकै बारेमा संगठनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाएको हो ।

विज्ञप्तिमा घटना घटाएको आरोपमा नेपाल विद्यार्थी संघ मोरङ क्याम्पस इकाइ सभापति सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिए पनि आवश्यक कानूनी कारबाही नेपाली कांग्रेसले सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । कांग्रेसले जिम्मेवारी नलिने हो भने जेनजी आन्दोलनको आवरणमा भइरहेको अराजकता स्वीकार्य नहुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

संगठनले यसअघि काठमाण्डुमा एमाले नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठको जितपुरसिमरा–४ स्थित घरमा सुदन गुरुङ नेतृत्वको समूहले धम्की दिएको भनिएको घटनाप्रति पनि आपत्ति जनाएको छ । मंसिर ३ गते राष्ट्रिय युवासंघ बारा जिल्लाको कार्यक्रममा सहभागी हुन जाने क्रममा महासचिव शंकर पोखरेल तथा अन्य नेताहरूलाई रोक्न प्रयास गरिएको भन्दै सिमरा विमानस्थलमा अवैधानिक प्रवेश, गेट भत्काउँदै वातावरण अस्थिर बनाउन खोजिएको आरोप समेत लगाइएको छ ।

विज्ञप्तिमा सम्राट उपाध्याय लगायत जेनजी आन्दोलनका योजनाकार मानिएका केही व्यक्तिहरू खुलामञ्चमा हिँडिरहेको आरोप लगाउँदै एमालेका निर्वाचित पदाधिकारी र युवासंघका नेताहरूलाई पक्राउ गरी झूटा मुद्दा दर्ता गरिनु निन्दनीय भएको उल्लेख छ । उनीहरूको तत्काल रिहाइको माग पनि गरिएको छ ।

संगठनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्न लागेको आरोप लगाउँदै यस्तो व्यवहारले सरकार लोकतन्त्रमा होइन, अराजकतामा विश्वास गर्छ भन्ने निष्कर्ष आउने चेतावनी दिएको छ ।

फोर्सले जनताको सुरक्षा जनतामार्फत भन्ने मूल उद्देश्यअनुसार सुदन गुरुङ र सम्राट उपाध्यायसहित सम्बद्ध समूहमाथि छिटो कारबाही गर्न आग्रह गर्दै आवश्यक कारवाही नगरे प्रतिरोधको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएको छ ।