काठमाण्डु – केडिया ग्रूपको आयोजनामा हुन लागेको भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
आयोजक केडिया ग्रूपले मंगलबार कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरेका छन् । राखेपका सदस्य सचिव टंकलाल घिसिङ र केडिया ग्रूपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरेका थिए ।
केडिया ग्रूपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ उचाइको उडान स्लोगान राखिएको कार्यक्रममा जानकारी दिए ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।
९ दिनसम्म चल्ने लिगमा कूल १५ खेल हुने र लिगमा शीर्ष २ स्थानमा रहने टोलीबीच फाइनल खेल हुने पनि उनले बताए । हरेक टोलीमा १२ खेलाडी हुने, त्यसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन् ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रूपबीच ७ वर्षका लागि सम्झौता भएको छ । नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको छ ।
कार्यक्रममा केडिया ग्रुपका अध्यक्ष विमल केडियाले भलिबलको विकासका लागि सधैं तयार रहेको बताए ।
कार्यक्रममा मन्त्री चौधरीले अहिले नेपाली खेलकुदमा राम्रो वातावरण बन्दै गएको बताए ।




प्रतिक्रिया