न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार र बिहीबार गरी दुई दिन काठमाडौंमा रहनेछन् ।

न्युजिल्यान्डबाट उच्चस्तरको यो पहिलो राजनीतिक भ्रमण हो । श्रीलंकाको भ्रमण सकेर पिटर्स मैत्रीपूर्ण औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । बुधबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको भ्रमण अघि पीटर्सले लेखेका छन्, ‘यो भ्रमण नेपाल र न्यूजिल्यान्डबीचको विशेष सम्बन्धलाई उजागर गर्नेछ, जुन तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको सगरमाथा आरोहणको वार्षिकोत्सवसँग पनि मेल खान्छ । साथै, यो भ्रमण गत वर्ष नेपालका परराष्ट्रमन्त्रीको वेलिङ्टन भ्रमणको जवाफस्वरूप पनि हुनेछ ।

गत वर्ष तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले न्युजिल्यान्डको भ्रमण गरेका थिए । न्युजिल्यान्डमा नेपालका १२ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, त्यहाँ पेसा व्यवसाय गरेर बसेका तथा रोजगारीका लागि जाने नेपालीको संख्या पनि बढ्दो छ ।

न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले सन् १९५३ मा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढेदेखि नेपाल–न्युजिल्यान्डबीच विशेष सम्बन्ध रहँदै आएको छ ।

त्यस्तै, २०७२ को विनाशकारी भूकम्पपछि राहत कार्यमा पनि न्युजिल्यान्डले सहयोग गरेको थियो । दुवै देशमा एकअर्काको दूतावास भने छैन । दिल्लीमा रहेको न्युजिल्यान्डको दूतावासले नै नेपाल हेर्दै आएको छ ।

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौंका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ दिल्लीका लागि उड्ने छन् ।