न्याय परिषद्ले गर्‍यो पाँच जना जिल्ला न्यायाधीश सरुवा, सात जना नियुक्त (नामसहित)


काठमाडौं – न्याय परिषद्ले मंगलबार विभिन्न जिल्ला अदालतमा रिक्त रहेको ७ न्यायाधीश पदपूर्ति गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा अध्यक्ष रहेको परिषद्ले न्याय सेवामा कार्यरत ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा कार्यरत पाँच जना उपरजिस्ट्रार र अन्य उच्च अदालतमा कार्यरत दुई जना रजिस्ट्रारलाई न्यायाधीशमा नियुक्तिसँगै पदस्थापन गरेको छ ।

सर्वोच्चका उपरजिस्ट्रारहरुमा विद्याराज पौडेल रुकुम, महेन्द्रराज काफ्ले सोलुखुम्बु, इन्दिरा शर्मा झापा, मनकुमारी जिएम विक बाँके र रिता कुमारी बख्रेललाई सप्तरीको जिल्ला न्यायाधीशमा पदस्थापन गरिएको छ । उच्च अदालतको दुई जना रजिस्ट्रार मध्येबाट न्यायाधीश हुनेमा तुल्सीपुर बुटवल इजलासका गेहेन्द्रराज पन्तलाई भोजपुर र दिपायल महेन्द्रनगर इजलासका टेकराज जोशीलाई डोल्पाको जिल्ला न्यायाधीशमा पदस्थापन गरिएको छ ।

न्याय परिषद्का अनुसार अहिले विभिन्न जिल्ला अदालतमा ३७ न्यायाधीश पद रिक्त छ । जसमध्ये न्यायसेवाका ७ कर्मचारीलाई आन्तरिक बुढुवा मार्फत न्यायाधीशमा नियुक्त गरिएको हो । बाँकी ३० न्यायाधीश लोकसेवा परीक्षा पास गरेकाबाट नियुक्त हुनेछन् ।

पाँच जिल्ला न्यायाधीश सरुवा
यस्तै परिषद्ले पाँच जिल्ला न्यायाधीशको सरुवासमेत गरेको छ । भोजपुरका खिलनाथ रेग्मी बारा, सोलुखुम्बुका अमृतबहादुर बस्नेत झापा, नवलपुरका अम्बिकाप्रसाद निरौला काठमाडौं, दोलखाका तेजबहादुर केसी मोरङ र रूकुमका आत्मदेव जोशीलाई धादिङको जिल्ला न्यायाधीशमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement