उडिसाको केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु

उडिसाको केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको उडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

१८ वर्षीया उनी बीटेक साइन्सकी विद्यार्थी थिइन्। उनको मृत्युको बारेमा केआईआईटीका अधिकारीहरूले केही जानकारी दिएको छैन ।

प्रहरी आयुक्त एस देव दत्त सिंहले विद्यार्थीको मृत्युको बारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए। यसबारे प्रिसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ। उनीहरू शुक्रबार भुवनेश्वर पुग्नेछन्। यसपछि मात्र पोस्टमार्टम गरिनेछ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्याको देखिएको सिंहले बताए।

प्रहरीले बताएअनुसार होस्टेलका अधिकारीहरूले बिहीबार साँझ करिब सात बजे विद्यार्थीहरूको हाजिरी लिइरहेका थिए। जब उनीहरूले कोठा नम्बर १११ को ढोका ढकढक्याए, भित्रबाट कुनै प्रतिक्रिया आएन। शंका लागेपछि उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीले होस्टेलको कोठा खोल्दा प्रिसाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो।

यसअघि फेब्रुअरी १६ मा त्यहाँ अध्ययनरत छात्रा प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय युवकले आफूलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका थिए। उक्त विद्यार्थी युवतीको प्रेमी भएको दाबी गरिएको थियो। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरूविरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका थिए।