आदिवासी जनजाति युवा महासंघ नेपालको ‘राष्ट्रिय जनगणना तथा कोरोना सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न

आदिवासी जनजाति युवा महासंघ नेपालको ‘राष्ट्रिय जनगणना तथा कोरोना सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आदिवासी जनजाति युवा महासंघ नेपालले ‘भित्ते पात्रो सार्वजनिक तथा १२ औँ राष्ट्रिय जनगणना–२०७८ र कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै महासंघले शुक्रबार भर्चुअल (अनलाइन) मार्फत सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति युवा महासंघ नेपाल, संघीय परिषदका अध्यक्ष हेमन्तकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष राईले कोरोना संक्रमणदर बढेको भन्दै महामारीको यस विषम परिस्थितीमा सम्पूर्ण युवाहरु सचेत हुनुपर्ने बताए । २०७८ सालको भित्ते पात्रो सार्वजनिक गर्दै उनले यसबाट सुरक्षीत रहन सबैमा आग्रह गरेका हुन् । त्यस्तै जनजाति महासंघका अध्यक्ष बरामले भाषा, संस्कृति, धर्म लगायत आदिवासी जनजाति पहिचानका महत्वपूर्ण कुराहरु नछुटाउन आग्रह गरे ।

उनले २०६८ को तथ्यांकमा नेपाल सरकारले सुचिकृत गरेका ५९ आदिवासी जनजाति मध्ये १२ वटा आदिवासी समुदायको तथ्यांक नै उल्लेख नगरिएको भन्दै आपत्ति जनाए । त्यस्तै अध्यक्ष बरामले सरकारले कोरोना महामारी नियन्त्रणमा चासो नदेखाएकोप्रति चिन्ता व्यक्त गरे । ‘सरकार कोरोना महामारी नियन्त्रणमा नलागेर राजनीतिक खिचातानिमा लिप्त भए । जनता अस्पतालमा बेड, अक्सिजन नपाएर छटपटाईरहेका छन् । सरकारलाई जनता भन्दा सत्ता प्यारो भएको छ,’ उनले भने ।

कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभाग, जनसंख्या शाखा थापाथलीका निर्देशक ढुण्डीराज लामिछानले राष्ट्रिय जनगणनाले विभिन्न क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको बताए । उनले यो पटकको जनगणनाले आदिवासी जनजातिका मागलाई पुरा गर्ने बताए । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल टेकुका बरिष्ठ विशेषज्ञ, डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्ड नअपनाउने, हेलचेक्र्याई गर्ने बानीले कोरोनाको जोखिम अझ बढेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अहिले देखिएको कोभिड–१९ को दोश्रो लहरको संक्रमणपछि देखिने लक्षण पनि फेरिएको भन्दै उनले थप सतर्कता अपनाउन आग्रह गरेका हुन् । ‘अहिले संक्रमण दर बढेसँगै अस्पतालहरु भरिएका छन् । बिरामीलाई बेड पाउन मुश्किल भइरहेको छ,’ उनले भने, ‘यसहिसाबले पनि हामीले अझ धेरै ध्यान दिन जरुरी हुन्छ ।’

डा पुनले तत्काल गरिएको निषेधाज्ञा प्रभावकारी नभए नेपालमा पनि भारतको जस्तै अवस्था आउने बताए । ‘अहिले धेरै ठाउँमा लकडाउन छ । तैपनि मानिसहरु घुम्न गइरहेका, काम बिनै पनि बाहिर हिंडिरहेका देखिन्छन् । यस्तो कुरामा सावधानी अपनाइएन भने जोखिम अझ बढ्छ,’ उनले भने ।

उनले समुदायमा जाँदा अपनाइने जनस्वास्थ्यका मापदण्ड अब घरभित्रै अपनाउनु पर्ने दिन आएको बताए । उक्त कार्यक्रममा विभिन्न जातिय संस्थामा प्रतिनिधित्व गर्ने युवाहरुको सहभागिता रहेको थियो ।