डिजेल र ग्यासमा आयल निगमलाई उच्च नोक्सानी, अफवाहमा नलाग्न आग्रह

डिजेल र ग्यासमा आयल निगमलाई उच्च नोक्सानी, अफवाहमा नलाग्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबारमा भारी घाटा व्यहोरिरहेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका मूल्यसम्बन्धी सूचनाहरू भ्रामक रहेको स्पष्ट पारेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएका कारण चरम आर्थिक दबाबमा रहेको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई प्रत्येक १५ दिनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भइरहेको छ । निगमका अनुसार हाल बिक्री भइरहेका सबैजसो पेट्रोलियम पदार्थमा लागत मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

सबैभन्दा बढी नोक्सानी डिजेल र खाना पकाउने एलपी ग्यासमा देखिएको छ । डिजेलमा प्रतिलिटर २९४ रुपैयाँ ९९ पैसा खरिद लागत रहेकोमा २०७ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा, एलपी ग्यासमा प्रतिसिलिन्डर २ हजार ३४१ रुपैयाँ २५ पैसा लागत परे पनि २ हजार १० रुपैयाँमा बिक्री गर्दा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा र पेट्रोलमा खरिद लागत २२१ रुपैयाँ ३२ पैसा रहेकोमा २१९ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा घाटा रहेको छ ।

वित्तीय घाटाका बाबजुद पनि बजारमा इन्धनको आपूर्ति प्रणालीलाई प्रभावित हुन नदिने निगमले जनाएको छ ।

निगमले तथ्यहीन र भ्रामक समाचारको पछि नलाग्न आमउपभोक्तालाई आग्रह गर्दै आधिकारिक सूचनाका आधारमा मात्र धारणा बनाउन अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावले निगमको सञ्चित कोषमा ठूलो असर पुगेको विज्ञप्तिमा उल्लेख छ ।