ओखलढुंगामा पुरानै अनुहार पुरानै एजेण्डा, यज्ञराज र रामहरिमध्ये को पुग्लान संसद ?

ओखलढुंगामा पुरानै अनुहार पुरानै एजेण्डा, यज्ञराज र रामहरिमध्ये को पुग्लान संसद ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रतिनिधि सभाका लागि पुरानै प्रतिद्वन्द्धीबीच प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ को निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवार फेरि आमनेसामने भएका हुन् । उनीहरु दोश्रो पटक चुनावी मैदानमा भिड्न लागेका हुन्। अघिल्लो निर्वाचनमा ओखलढुंगाबाट एमालेका यज्ञराज सुनुवार विजयी भएका थिए ।

त्यसबेला एमालेको साथमा माओवादी केन्द्र थियो । सुनुवारले रामहरि खतिवडालाई पाँच हजार दुई ५३ मतान्तरले पराजित गरेका थिए । तर यसपटक भने राजनीतिक समिकरण फेरिएको छ । अघिल्लो निर्वाचनमा माओवादी एमालेको साथमा थियो भने यसपटक माओवादीको साथ रामहरि खतिवडालाई छ ।

नेकपा एमाले सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको छ । दुई पटक सांसद बनिसकेका सुनुवार आफै चुनाव जित्ने दाबी गर्छन् । ओखलढुंगामा आदिवासी बाहुल्यता धेरै छ । र उनी स्वयम पनि जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले उनको जित निश्चित हुने कतिपय नेताहरु बताउँछन् ।

यता नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडा आफुले चुनाव जित्नेमा ढुक्क छन् । गठबन्धनका कारण आफ्नो जित निश्चित भएको उनी बताउँछन् । अघिल्लो निर्वाचनमा एमालेलाई समर्थन गरेको माओवादीको मत यसपटक कांग्रेसलाई थपिँदा रामहरी चुनाव जित्नेमा ढुक्क भएका हुन् । तर उनलाई त्यति सजिलो भने पक्कै हुने छैन ।

खतिवडा सभापति शेरबहादुर देउवा समूहका हुन्। जिल्लामा शेखर कोइराला समूहले उनलाई सहयोग गरेन भने उनलाई अप्ठेरो हुन सक्छ । सुरुदेखि नै जिल्लामा शेखर समूहलाई पेलेको आरोप खतिवडामाथि लाग्ने गरेको छ । त्यसमा पनि प्रदेशसभामा शेखर समूहले टिकट नपाएपछि जिल्लामा उक्त समूह झन् चिढिएको छ ।

प्रदेश क कांग्रेसबाट प्रदीप सुनुवारले टिकट पाएका छन्। उनी पनि देउवा समूहका हुन। प्रदेश ख माओवादी केन्द्रको भागमा परेको छ । प्रदेश ख मा माओवादीबाट बाबुराम गौतम उम्मेदवार छन्। जिल्लामा आफ्नो समूहलाई कर्नरमा परेको भन्दै शेखर समूह असन्तुष्ट छ, त्यसले पनि खतिवडालाई अप्ठेरो पर्न सक्ने नेताहरु बताउँछन् ।

यज्ञराज यसपटक पनि जित्दै पकड बलियो बनाउन चाहन्छन् भने रामहरि ०७४ को बदला लिने योजनामा छन् । २०१५ सालदेखि ०५६ सम्मको निर्वाचन हेर्ने हो भने ओखलढुंगा कांग्रेसको गढ मानिन्थ्यो । ०६४ सालमा नेपाली कांग्रेसबाट रामहरि खतिवडाले टिकट पाएका थिएनन् । उक्त साल माओवादी निर्वाचित भएको थियो ।

एमालेको इतिहासमा पहिलोपटक सांसद निर्वाचित भई यज्ञराज सुनुवारले ०७० मा खाता खोलेका थिए । सुनुवार पार्टी संगठन विस्तारमा लोकप्रिय नेता मानिन्छन् । कांग्रेसका केन्द्रीय सदस्य खतिवडा युवा माझ प्रभावशाली छन् । उनी दोश्रो संविधानसभा निर्वाचन ०७० मा तत्कालीन निर्वाचन क्षेत्र नंं २ बाट निर्वाचित भएका थिए भने सुनुवार क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

हाल ओखलढुंगामा प्रतिनिधिसभाका लागि एक स्वतन्त्र सहित १० उम्मेद्वार छन् । तर विजयीका मूख्य प्रतिस्पर्धी सुनुवार र खतिवडा नै हुन् । जिल्लामा दुबै नेता प्रभावशाली रहेकाले यसपटक ओखलढुंगामा नतिजा कसको पोल्टामा पर्छ भन्ने यकिन गर्न गाह्रो छ ।

उनीहरुले चुनाव जित्न खासै नयाँ र फरक एजेण्डा बनाएका छैनन् । यी दुवैको चुनावी एजेन्डा उस्तै छ । ओखलढुंगामा १ लाख १७ हजार ८ सय ९७ मतदाता छन् । करिब ६० प्रतिशत मतदान अनुमान गर्दा पनि प्रतिनिधिसभामा निर्वाचित हुने उम्मेद्वारले कम्तिमा ३० हजार भोट ल्याउनुपर्ने देखिन्छ ।