ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।
चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा विवाद उत्पन्न भएपछि काँग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाट मतपत्र खाेसेर च्यातेका हुन् ।
वडा ३ मा काँग्रेसका तर्फबाट मिन बहादुर आले मगर र माओवादीका तर्फबाट भिष्म श्रेष्ठ वडा अध्यक्षमा उठेका छन् ।उनीहरुको मत बराबर भएपछि पुन: गणना गर्ने क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद भएको थियो ।
विवादकै क्रममा निर्वाचन अधिकृत कमला काफ्लेले नजिकैबाट दलका प्रतिनिधिलाई मतपत्र देखाउने क्रममा काँग्रेसका जिल्ला सचिव ढुंगाना लगायतको समूले मतपत्र खोसेर च्यातेका हुन् ।
मतपत्र च्यात्ने ढुंगानासहितका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी सुकदेव खनालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको छ ।
पक्राउ परेकाहरुलाई हतकडी लगाएर राखिएको उनले बताए । शंखुगढी गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका छन् । तर वडा तहमा भने गठबन्धन गरिएको छैन । मतपत्र च्यातिएपछि त्यहाँ पुनः मतगणना स्थगित भएको छ ।




प्रतिक्रिया