युगकवि श्रेष्ठको गृहजिल्ला ओखलढुंगामा कांग्रेस बलियो, गठबन्धनमा समस्या

युगकवि श्रेष्ठको गृहजिल्ला ओखलढुंगामा कांग्रेस बलियो, गठबन्धनमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मेरो प्यारो ओखलढुंगा । यो गीत नसम्झने नेपाली कमै होलान् । युगकवि एवं साहित्यकार सिद्धिचरण श्रेष्ठको गृहजिल्ला हो ओखलढुंगा । स्थानीय तह चुनावको रौनक सबैतिर जस्तै यहाँ पनि बढेको छ । ओखलढुंगामा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तह छन् । कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार जिल्लाका चर्चित नेता हुन् ।

प्रदेश १ को यो पहाडी जिल्लामा विगतमा कांग्रेसको वर्चस्व देखिन्छ । ०७४ सालको स्थानीय चुनावमा यहाँका चारवटा स्थानीय तहमा कांग्रेसले कब्जा जमाएको थियो । तीनवटामा एमाले र एउटामा माओवादीले जितेको थियो । खिजीदेम्बा, चम्पादेवी, सुनकोसी र मानेञ्ज्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो । उसले मोलुङ गाउँपालिको उपाध्यक्ष पनि जितेको थियो ।

सिद्धिचरण नगरपालिकाको मेयर र उपमेयरमा एमालेले झिनो मतान्तरले जित निकाल्यो । त्यसबाहेक उसले लिखु गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा मोलुङ गाउँपालिकामा अध्यक्ष र चिशंखुगढीमा उपाध्यक्ष पद पनि जित्यो । माओवादीले चिशंखुगढीमा अध्यक्ष जित्यो । त्यो पनि ३ मतको अन्तरले मात्रै । जिल्लामा कतै फराकिलो मतान्तर त कतै झिनो अन्तर देखियो । कांग्रेसले जितेका स्थानीय तहमा मतान्तर ठूलो देखिन्छ । तर, एमालेले भने निकै प्रतिस्पर्धामा बाजी मारेको छ । मोलुङमा उसले जम्मा २६ मतले अध्यक्ष जितेको थियो ।

सम्भावित परिणाम

जिल्लामा कांग्रेस सांगठनिक रूपमा मजबुत देखिन्छ । अघिल्लो चुनावका आधारमा विश्लेषण गर्दा पनि त्यसलाई पुष्टि गर्छ । संघीय सत्ता चलाइरहेका दलबीच गठबन्धनको चर्चा भइरहँदा ओखलढुंगामा भने तालमेलअनुसार उम्मेदवारी दर्ता भएन । तालमेल त परको कुरा कतिपय स्थानमा त कांग्रेसबाट आफ्नै उम्मेदवारविरुद्ध बागी पनि परेको छ । विगतको नतिजा हेर्दा जिल्लामा कांग्रेस नै बलियो देखिन्छ ।

उसले जितेका सबै पालिकामा ठूलो मतान्तर छ । एमाले र माओवादीले जितेका तहमा त्यस्तो देखिन्न । यदि गठबन्धन बन्यो भने जिल्लामा त्यसले नै अधिकांश पालिका जित्ने देखिन्छ । बनेन भने कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा आउनेछन् । तर, कसले कतिवटा पालिका जित्छन् भनेर अहिले नै यकिन गर्न भने गाह्रो छ । जिल्लामा १ लाख १७ हजार ८५ मतदाता छन् । तीमध्ये ५९ हजार १ सय ६२ पुरुष र ५७ हजार ९ सय ९२ महिला छन् ।