ओखलढुंगा – ओखलढुंगाको खिजीफलाटेमा एकिकृत सरकारी भवन बन्ने भएको छ । खिजीदेम्बा गाउँपालिकाको केन्द्रमा छरिएर रहेका सरकारी कार्यालयहरु व्यवस्थापनका लागि पन्ध्र करोडको लागतमा एकिकृत भवन बन्ने भएको हो ।
ईलाका प्रशासन, ईलाका हुलाक, वन डिभिजन, नापी र मालपोत कार्यालयका लागि एकिकृत भवन बनाइने सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुख रुद्रनारायण मिश्रले जानकारी दिए । उनका अनुसार ठेक्का प्रक्रियामा गएर चालु आर्थिक वर्षबाटै भवन निर्माणको काम थालिने छ ।
प्रदेश सांसद अम्बिरबाबु गुरुङको पहलमा उक्त योजनाको काम अघि बढेको प्रमुख मिश्रले बताए । ‘सांसद ज्यूको पहलमा डिपिआर बनाएर बजेट समेत स्विकृत भईसकेको छ । अब निर्माणको काम अघि बढ्छ ।’ मिश्रले काठमाडौं पाटीलाई भने, ‘सांसद आफैं सकृय भएर लाग्नुभएकाले हामीलाई डिपिआर बनाएर योजना स्विकृत गराउन निकै सजिलो भयो ।’
पाँच वटै कार्यालयको भवन, दुई वटा आवास गृह र सवारी पार्कीङ तथा गार्डेन समेत निर्माण गर्ने गरि डिपिआर स्विकृत भएको छ । खिजीफलाटेमा एकिकृत सरकारी भवन बनाउन प्रदेश सरकारले १४ करोड ९५ लाख रकमको डिपिआर स्विकृत गरिसकेको छ । भवन निर्माणका लागि बढीमा ३ वर्ष लाग्ने जनाईएको छ ।
खिजीफलाटेमा ईलाका प्रशासन कार्यालय, हुलाक, वन डिभिजन, नापी र मालपोत कार्यालयको सेवा अहिले व्यक्तिको घरमा भाडाका कोठाबाट सञ्चालन भईरहेको छ ।




प्रतिक्रिया