मुगु – मुगुका कृषकहरू ओखर खेती लगाउने विधि सिक्दै छन् ।
मुगुमा व्यावसायिक रूपमा खेती गर्दै आइरहेका अगुवा कृषक र प्राविधिकहरूको सहभागितामा विधि सिकाइएको हो ।
ओखर खेती लगाउने आधुनिक तरिका र आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा हिउँदे फलफूल नर्सरी फलफूल व्यवस्थापन सम्बन्धी ओखर खेती गने विधि सिकाइएको हो ।
तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो । अगुवा कृषि, प्राविधिकहरूको सहभागिता रहेको तालिम ३ दिनसम्म सञ्चालन भएको छ ।
ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा अगुवा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको र मुगुलाई आउँदा दिनमा ओखरका बिरुवा उत्पादन गरी बाहिर जिल्ला निर्यात गर्ने र बिरुवासहित आत्मनिर्भर जिल्ला बनाउने उद्देश्यका साथ प्रशिक्षण दिइएको छ ।
तालिममा ६०–७० प्रतिशत व्यावहारिक र ३०–४० प्रतिशत सैद्धान्तिक कक्षाहरू हुनेछन् । तालिममा कृषक र प्राविधिक गरी जम्मा ३१ जनाको सहभागी रहेको संयोजक भावना जैसीले बताइन् ।
तालिममा प्रयोगात्मक वा व्यावहारिक र सैद्धान्तिक विषयहरूमा केन्द्रित तथा अगुवा कृषकहरूलाई तालिम सिकाएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजना प्रमुख तेज विक्रम मल्लले बताए ।
तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ ।
उपयुक्त हावापानी, माटो, जग्गा छनोट, रेखांकनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनोट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ, अन्तरबाली व्यवस्थापन, भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको सहभागी अगुवा कृषक बाचबहादुर बुढाले बताए ।
ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराएको छ ।
तालिमका सिकेका कुराहरू व्यावहारिक वा प्रयोगात्मक रूपमा प्रयोगमा ल्याउन प्रशिक्षक तथा वागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका वैज्ञानिक राजकुमार गिरीले बताए ।




प्रतिक्रिया