काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नयाँपुस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठन गर्न माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया सुरु गर्नुपर्ने बताएका हुन् ।
‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं । कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम’, उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राती एपीवान टेलिभिजनमा नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले अब नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने बताएका थिए । बाँस्कोटा प्रधानमन्त्री ओली निकटका प्रभावशाली नेता हुन् ।
‘३२,३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ । नयाँ पुस्तालाई दिऊँ भनेको हो । त्यो पुस्तालाई जिम्मा लगाउन हामी किन तयार हुदैँनौ ?,’ उनले प्रश्न गरे, ‘हामी किन मलाई चाहियो, मेरो भाग पुगेन मात्रै भन्छौ । महाधिवेशनसम्म हामी ७० कट्छौ । ७० कटेकाले अब ओगटनु पर्छ भन्ने छैन ।’




प्रतिक्रिया