काठमाण्डु-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले बद्नाम गर्न खोजेको बताएका छन् ।
मंगलवार कैलालीको धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई नेपाली कांग्रेसले जबरजस्ती बद्नाम गराउन खोजेको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरिरहेका बेला ओलीले भने, ‘के लामिछाने सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’
रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको उनको भनाइ छ । बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानविन र अनुसन्धान प्रभावित गर्न खोजेको अध्यक्ष ओलीले बताएका छन् ।




प्रतिक्रिया