काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता हातमा लिन सफल भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन फुटाउँदै अध्यक्ष ओली सत्ता हातमा लिन सफल भएका हुन् । आइतबार बिहानसम्म पनि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने देखिएको थियो ।
तर, अन्तिम समयमा भने नेकपा एमालेसहित अन्य साना दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार ओलीले प्रचण्डलाई पहिलो पहिलो चरणमै प्रधानमन्त्री बनाएर सत्ता हातमा लिन सफल बने।
सत्ता हातमा लिन अध्यक्ष ओलीले ठुलो चालबाजी खेलेका छन् । ओलीको रणनीति थियो, जसरी पनि कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन फुटाउनु । यसका लागि ओलीले प्रचण्ड मिल्न आए पनि नेकपा एमालेले अस्वीकार गर्ने विश्वास नेपाली कांग्रेसलाई दिलाए ।
गत शनिबार मात्र ओलीले भनेका थिए, ‘प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना अब कुनै पनि हालतमा पुरा हुँदैन । उनले समय गुजारे। प्रचण्डले धेरै ढिला गरे, उनको सपना पुरा हुँदैन’ सम्भवतः यो राजनीतिक चालबाजी थियो।
त्यसकारण पनि प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री नबनाए गठबन्धनबाट बाहिरीने धम्की दिए पनि देउवाले प्रचण्डको कुरा सुनेन् । देउवा गठबन्धनबाट प्रचण्ड बाहिरिए पनि नेकपा एमालेले उनलाई पहिलो चरणमा प्रधानमन्त्री नबनाउनेमा ढुक्क थिए ।
देउवा सहमतिबिनै आइतबार ५ बजे गुजार्न चाहन्थे । त्यसपछि संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने अपेक्षामा थिए । त्यसो गर्दा १ महिनाभित्र विश्वासको मत लिँदा पुग्थ्यो । त्यहीबीच बाँकी सहमति जुटाउने रणनीतिमा देउवा थिए । तर, त्यसलाई अन्तिम समयमा पल्टाइदिए ओलीले ।
आइतबार पटक पटक प्रचण्डले देउवा र नेपाली कांग्रेसका अन्य नेताहरूसँग आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन आग्रह गरे । कांग्रेस नेताहरुले भने प्रचण्डको कुरा नसुन्न र पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्न देउवालाई सुझाव दिए । त्यसपछि देउवा पनि आफ्नो अडानबाट पछि हटेनन् । यदि प्रचण्ड गठबन्धनबाट बाहिरिएको खण्डमा नेकपा एमालेसँग सहकार्य गर्ने देउवाको मनसाय थियो ।
यसबारेमा केही दिन अगाडि देउवाले ओलीसँग टेलिफोन संवाद पनि गरेका थिए । त्यसकारण पनि अध्यक्ष ओली प्रचण्डलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउँदैनन् भन्ने देउवालाई विश्वास लाग्यो । तर, देउवाले भने ओलीको चालबाजी बुझेनन् ।
ओली प्रचण्डलाई जसरी पनि पाँच दलीय गठबन्धनबाट छुटाउन चाहन्थे । आइतबार बालुवाटारबाट आक्रोशित बनेर हिँडेका प्रचण्ड केहीबेर खुमलटारमा आराम गरेर सिधै बालकोट छिरे ।
त्यहाँ ओलीले प्रचण्डलाई पहिलो चरण मै प्रधानमन्त्री बनाएर सत्ता हातमा लिन सफल भए । देउवाले ओलीको चालबाजी नबुझेकै कारण नेकपा एमालेकाे नेतृत्वमा सरकार बन्न सफल भएको बुझिएको छ ।




प्रतिक्रिया