सस्तो मूल्यमा बिकेर प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : अध्यक्ष ओली

सस्तो मूल्यमा बिकेर प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालहरुले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरुले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकिर थियो।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरु कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरुले नबुझेकोसमेत बताए।

ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी समेत गरे। ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे।

उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पारिदिने बताए। २५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाइ थियो। उनले भने, ‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ। रोक्ने शक्ति कोही छ भने रोक्नुस्। यस अभियानलाइ रोक्न सक्ने कोही छ भने रोकोस्। यो लुकेर भनिएको छैन। खुलेआम भनिएको छ। आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ।’

ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।