‘अखण्ड भारत’ को नयाँ नक्साबारे ओलीले भने- नेपाली भूमि राखेकोबारे गल्ती सच्याऊ भन्न नसक्ने प्रधानमन्त्रीले भ्रमणमा नगए हुन्छ


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै संसद्मा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गर्न नडराउनु पर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गर्न डराए भारत भ्रमणमा नगए हुनेसमेत बताएका हुन् ।

‘नेपालको भूमि अहिले आइरहेको छ नि । लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर । मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ । नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसद्भित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो गल्ती सच्चाउनुस्, नक्सा हटाउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’, अध्यक्ष ओलीले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement