प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच बालुवाटारमा छलफल


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका छन् ।

संसद विघटनपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका गृहमन्त्री थापाले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । पूर्व माओवादी निकट थापाले अहिलेसम्म आफु कुन पक्षमा जाने भन्ने निर्णय गरिसकेका छैनन् ।

प्रधानमन्त्री ओली र थापाबीच भएको आजको भेटमा के–के कुराकानी भयो भन्ने खुलाइएको छैन । गृहमन्त्री थापालाई प्रचण्ड निकट नेताहरुले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् ।

यसअघि सोमबार र मंगलबार पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।