काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएकोबारे सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र ओलीले विपक्षी दलहरूको बैठकमा गएकोबारे स्पष्टीकरण लिएका हुन् ।
निकटस्थ स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले नेता नेपाललाई यता उता नगरी कित्ता क्लियर गर्न सुझाएका थिए । ओलीले एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको भन्दै त्यसबारे स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको संसदीय दलको बैठकमा पनि विपक्षी गठबन्धनको बैठकमा गएकोबारे कुरा उठेको भन्दै वास्तविकता के हो स्पष्ट पार्न भनेका थिए ।
नेता नेपालले भने मधेस प्रदेशको सरकारबारे छलफल गर्न बोलाएकाले गएको तर, कुनै ठोस कुराकानी त्यहाँ नभएको बताएका थिए ।
भेटपछि एमाले अध्यक्ष ओलीले बाहिर पत्रकारहरूसँग समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए । ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’
भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलबारे पनि कुराकानी भएको बताइएको छ ।




प्रतिक्रिया