काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल गएका छन् ।
पछिल्ला केही दिनयता चुनावी सभामा प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेका देउवा बुधबार विराटनगरबाट फर्किएलगत्तै ओलीलाई भेट्न अस्पताल पुगेका हुन् ।
फर्किने क्रममा देउवाले आफू उपचारमा संलग्न चिकत्सक र प्रधानमन्त्रीको परिवारका सदस्यसँग भेटेर फर्किएको जानकारी दिए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आफूले पाएको उनले बताए । प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुग्ने नेताहरू ढोकाबाटै फर्किने गरेका छन् ।
यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पंक्तिको तर्फबाट प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओली मंगलबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको थियो ।




प्रतिक्रिया