संविधान संशोधन गर्ने सहमतिसहित कांग्रेस–एमालेको सरकार !

संविधान संशोधन गर्ने सहमतिसहित कांग्रेस–एमालेको सरकार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधानसभामार्फत जनप्रतिनिधिले जनताका लागि बनाएको संविधान संशोधनबारे मुख्य दुई दलबीच संवाद बाक्लिएको छ । संघीय संसद्अन्तगर्तको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच संविधान संशोधनबारे शीर्ष र दोस्रो तहमा छलफल बाक्लिएको छ ।

संविधान संशोधनका मुद्दामा सहमति खोज्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीबीच छलफल भएका छन् । ओली र देउवाबीच शनिबार ओली निवास बालकोटमै करिब तीन घण्टा वार्ता भएको बाहिर आएको छ । त्यसबाहेक देउवा र ओलीबीच एक व्यवसायीको घरमा दुई पटकसम्म र आइतबार साँझ भएको भेटवार्ताबारे बाहिर ल्याइएको छैन ।

धेरै दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्नेमा दुई दलबीच मतैक्यता छ । समानुपातिक प्रणालीसमेत रहेको निर्वाचन प्रणालीबाट धेरै साना दल आउने र त्यसले गर्दा सरकार पनि स्थायी प्रकृतिको नहुने र बेलाबेलामा फेरबदल भइरहने गर्दा समस्या भएकोले समाधानका लागि संविधान संशोधन गर्ने भन्नेबारेमा कांग्रेस एमाले नेतृत्वबीच मतैक्यता छ ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच यसबारे सामान्य कुराकानी सुरु भएको थियो । त्यो कुराकानी गत साताबाट बाक्लिएको दुवै दलका नेताहरू बताउँछन् । राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा छलफल केन्द्रित रहेको नेताहरूको भनाइ छ ।

सुरुमा यसबारे कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक तथा एमालेबाट महासचिव शंकर पोखरेलबीच कुराकानी भएको थियो । उनीहरूबीचको कुरा सकारात्मक भएपछि देउवा र ओलीबीच छलफल भएको बताइन्छ ।

संविधान संशोधनबारे कुरा मिलेमा दुई दलबीच सरकार सञ्चालनबारेसमेत सामान्य खाका तय भइरहेको यी वार्तामा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार एमाले कांग्रेस सभापति देउवाले नै संसदको कार्यकालको बाँकी रहेको तीन वर्षमा दुई दलका तर्फबाट आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउने प्रस्ताव पनि देउवाको छ । देउवाले त्यो सँगै प्रदेशमा नेतृत्वबारे पनि प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्रीको दलले तीन र सहयोगी दलले चार प्रदेशमा सरकारको नेतृत्व गर्ने देउवाको प्रस्ताव छ ।

पहिला कसले सरकार चलाउने भन्नेबारेमा छलफल जारी रहेकोको पनि ती नेताले बताए । कांग्रेस, एमाले दुवैले पहिला आफूले सरकार चलाउने प्रस्ताव राखेका छन् ।

प्रदेशबारे पनि दुई नेताबीच सहमति बनेको छ । ३ प्रदेश कांग्रेस र ३ प्रदेश एमालेले नेतृत्व गर्ने सहमति बनेको छ । स्रोतका अनुसार कर्णाली, लुम्बिनी र कोशी एमालेले नेतृत्व गर्ने र कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिमको नेतृत्व गर्ने सहमति बनेको छ ।

कांग्रेस एमालेबीच देखिएको अविश्वास अहिलेका भेटले हटेको नेताहरूको दाबी छ । अविश्वास हटेपछि संविधान संशोधन र संविधान कार्यान्वयनबारे समझदारी गरेर अघि बढ्ने बाटो तय भएकोमा दुवै पार्टीका नेताहरू सहमत छन् ।

मुख्यगरी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति, बजेटमा ‘जनयुद्ध’ राखेर त्यसका नाममा बजेट विनियोजन, राजदूत सिफारिसमा गल्ती भयो भन्ने प्रधानमन्त्रीको भनाइमा अविश्वास बढ्दै गएको नेताहरू बताउँछन् ।