काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ ।
उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डु हुँदै जिल्ला अदालत काठमाण्डु लगिनेछ । कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ । तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्नेछ । जसका लागि आइतबार पेशी तोकिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।




प्रतिक्रिया