मधेशमा ओलीको क्रेज बढ्दै, प्रभावशाली नेता धमाधम एमालेमा प्रवेश

मधेशमा ओलीको क्रेज बढ्दै, प्रभावशाली नेता धमाधम एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड पछिल्लो समय मधेशमा देखिन्छ ।  एमालेलाई मधेश विराेधी प्रचार गरेर मधेशको मत बटुल्ने कांग्रेस, मधेशीदल र माओवादीको योजना विस्तारै फितलो मात्र होइन मधेशी जनता यति बेला एमालेप्रति आकर्षित भएका छन् ।

बितेका केही वर्ष यता मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । जनप्रतिनिधिहरूलाई पार्टी प्रवेश गराउनेदेखि मधेश नेताहरूलाई पार्टीभित्रै पनि नचिढ्याउने अध्यक्ष ओलीको रणनीति मधेशमा एमालेको सिट बढाउने उद्देश्य नै हो ।

पछिल्लो समय अध्यक्ष ओली आफूनै मधेसका विभिन्न क्षेत्रमा पूगेर उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउन थालेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ ।

यसले गर्दा मधेशमा उनको क्रेज बढ्दै गएको छ । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेताहरु एमाले प्रवेश गर्दा अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

शनिबार मात्रै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए । त्यस्तै हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरेका छन् ।

यसअघि अध्यक्ष ओलीले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । भदौ २८ गते जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी मैदानमा नेकपा धनुषाले आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले जन्मसिद्ध नेपाली नागरिकको हितमा भाेलि नै विधेयक ल्याए एमालेले मतदान गर्ने बताएका थिए ।

उनले नागरिकता विधेयकका विषयमा एमालेप्रति गलत अफवाह फैलाएको भन्दै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विधेयक तुरुन्त संसदमा पेश गर्न सरकारलाई चुनौती समेत दिए ।

यता गठबन्धनमा आवद्ध दलहरूले अध्यक्ष ओलीको योजनामा नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको आरोप लगाइरहेका छन् । तर, अध्यक्ष ओलीले भने गठबन्धनले उक्त विधेयकको विषयमा नेकपा एमालेप्रति भ्रम फैलाइरहेको बताउँदै मधेशी जनतालाई एमाले तीर आकर्षण गराइरहेका छन् ।