काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘गोप्य’ भेटवार्ता भएको छ ।
पार्टी संगठनात्मक एकता र कार्यविभाजनको विषयमा दुई नेताबीच खटपट भइरहेको अवस्थामा उनीहरु दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोप्य भेटवार्ता भएको हो ।
भेटवार्ताको छलफलका विषयलाई दुवै पक्षले गोप्य राखेका छन् । यद्यपी, ओलीले मन्त्रिपरिषद् पुर्नगठनका लागि आफूले गरिरहेको तयारी तथा पार्टीका आगामी योजनाका विषयमा केन्द्रित रहेर नेपालसँग कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
असमझदारी बढ्ने र दूरी बढाउन दुवै नेताको कमजोरी रहेको महसुस गर्दै नेताहरूले अविश्वास र तिक्तता मेटेर अगाडि बढ्ने विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतले जानकारी दिएको छ ।
भेटका लागि नेता नेपाललाई बालुवाटार निम्ताएका प्रधानमन्त्री ओलीले पार्टी र सरकार मिलेरै सञ्चालन गर्ने भन्दै त्यसमा भूमिका खेल्न नेपाललाई आग्रह गरेका श्रोतले जानकारी दियो । प्रधानमन्त्री सिंगापुरमा दोस्रो पटक उपचारमा जानुअघि भएको बैठकमा दुई नेताबीच चर्काचर्की भएपछि बैठकमा नेपालले ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए । कात्तिक पहिलो साता मृगौलामा समस्या देखिएपछि ओली ग्राण्डी अस्पताल भर्ना हुँदा समेत नेपाल स्वास्थ्यस्थित बुझ्न गएका थिएनन् ।
भदौ ३ गतेपछि दुवै नेताहरुबीच यसरी एक्लाएक्लै छलफल भएको थिएन । मन्त्रीमण्डल हेरफेर गर्ने हल्ला चलिरहेका बेला यी दुई नेताबीच भएको गोप्य भेटवार्ताले नेकपामा तरंग ल्याएको छ ।




प्रतिक्रिया