काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । उनले आफुले छोड्नै पर्ने अवस्थामा अहिलेसम्म प्रधानमन्त्री वन्ने अवसर नपाएका नेता गौतमलाई सरकारको नेतृत्व गर्न दिने प्रस्ताव अघि सारेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको ३ घण्टा लामो बैठकमा प्रधानमन्त्री ओलीले नयां प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा सचिवालय सदस्य विष्णु पौडेल र ईश्वर पोखरेलले समर्थन गरेका थिए ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डकोे संयुक्त अध्यक्षतामा सञ्चालन भएको बैठकमा उनले उपाध्यक्ष गौतमलाई कोरोना भाइरसको संकट सकिएपछि आफुले प्रधानमन्त्री पदवाट राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।
प्रधानमन्त्री ओलीले त्यसका लागी संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्ने वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर भएपनि गौतमलाई ल्याउन आफु तयार रहेको स्पष्ट पारे । अर्का नेता नेपालको हकमा समेत तेस्रो अध्यक्ष बनाउन आफु तयार रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । त्यसका लागी पार्टीमा तीन अध्यक्ष बनाउन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री ओलीको गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावसंगै नेकपामा पुर्व एमालेहरु एक हुने संकेत देखिएको छ ।
बैठकको सुरुमै बोलेका नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफुलाई अपमान गरेको र सहमतीअनुसार अघि नबढेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री ओलीले यो अवस्थामा पद त्याग्नुपर्ने बताएपनि उनले सवै आरोप अस्विकार गरेका थिए ।
बैठकमा नेता झलनाथ खनालले आक्रोस व्यक्त गर्दै पदबाट राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा नरम शैलीमा प्रस्तुत भएका थिए । सचिवालय बैठकमा प्रवेश गर्नुअघि नेता गौतमले हस्ताक्षरका लागी सांसद समेत रहेकी गौतमपत्नी तुलसा गौतमलाई बालुवाटार ल्याएको भन्दै हांसो गरेका थिए ।
सचिवालय बैठकअघि मंगलवार नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच भएको बैठकमा आफुलाई एकल अध्यक्ष दिन प्रचण्डले प्रस्ताव गरेको स्रोतको दावी छ । जवाफमा प्रधानमन्त्री ओलीले नेताहरु बामदेव गौतम,झलनाथ खनाल, माधवकुमार नेपाल र रामबहादुर थापालाई अध्यक्ष बनाउने र त्यसको अध्यक्ष मण्डलको अध्यक्ष भने आफु बन्ने प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया