काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठनबारे गृहकार्य सुरु गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओली सम्भव भएसम्म कांग्रेसलाई समेत सरकारमा सामेल गर्ने पक्षमा छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर सरकारमा सहभागीताका लागी आमन्त्रण गरिसकेका छन् । तर,त्यसमा देउवाको सकरात्मक जवाफ भने नआएको बताइन्छ ।
प्रतिनिधिसभाको विघठनपछि निर्वाचनमा जाने ओली सरकारको निर्णयपछि कांग्रेस,माओवादी केन्द्र,एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष आन्दोलन गर्ने र कानुनी लडाई लड्ने पक्षमा रहेको बेला प्रधानमन्त्री भने कांग्रेसलाई मनाउनेमा लागेका छन् । त्यसका लागी उनले नेता रमेश लेखक वा विमलेन्द्र निधीको नेतृत्वमा सरकारमा पठाउन देउवालाई आग्रह गरिसकेका छन् ।
प्रधानमन्त्री ओली आफ्नै नेतृत्वको सरकारमा सकभर सबैलाई समेटेर राष्ट्रिय सहमतीको सरकारको आकार बनाउने प्रयत्नमा लागेका छन् । त्यसका लागी उनले कांग्रेस,जसपा र अन्य साना पार्टीको समेत सहभागीता गराउने गृहकार्यमा लागेका छन् ।
अहिले प्रधानमन्त्री ओलीसहित १५ मन्त्री र तीन जना राज्यमन्त्री छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका ७ जना मन्त्री सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भइसकेका छन् । ती मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् । उनले जसपाका नेताहरु इस्तियाक राई र प्रदिप यादवसंग समेत संवाद बढाएका छन् ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका र अस्ति भर्खर राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएका पुर्व गृहमन्त्री रामबहादुर थापालाई उपप्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने तयारी गरेका छन् । यद्यपी उनको मन्त्रालय पनि परिवर्तन हुन सक्ने सम्भावना छ । त्यसैगरी लेखराज भट्ट, टोपबहादुर रायामाझी र प्रभु शाह समेत दोहोरिने सुचीमा छन् । यता एमालेबाट पनि केही मन्त्रीको हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली छन् ।
एमालेका दुई नेता गोकुल बांस्कोटा र महेश बस्नेतलाई पनि मन्त्री बनाउने सम्भावना छ । बस्नेतले गृहमन्त्रीमा दावी गरेका छन् । बांस्कोटालाई भने संचारको जिम्मेवारी दिने सम्भावना छ । ओली निकट रहेर काम गरिरहेका नेताहरु विशाल भट्टराई,खगराज अधिकारी र राजेन्द्र गौतम पनि मन्त्री बन्नेमा छन् । त्यसैगरी एमालेको संस्थापन पक्षमा रहे भने सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई पनि महत्वपुर्ण जिम्मेवारी दिने तयारी छ । प्रधानमन्त्री ओलीले थापा,अर्थमन्त्री रहेका पौडेल र बस्नेतमध्ये एक जनालाई गृहमन्त्री दिने सम्भावना बढी रहेको निकट स्रोतले जनायो । उनले जसपाका नेताहरुसंगको भेटमा अर्थ र गृहमन्त्रालय दिन नसकिने प्रष्ट पारिसकेका छन् ।
यता, जसपाभित्र पनि सरकारमा पठाउने नेताहरुको गृहकार्य सुरु भएको छ । राष्ट्रपतिबाट नागरिकता विद्येयकको प्रमाणिकरण हुने वित्तिकै र सोमबारबाट रेशम चौधरीको मुद्दामा सर्वोच्चमा बहस सुरु भएपछि सरकारमा जानेमा जसपा नेताहरु छन् । जसपाभित्र राजेन्द्र महतोको नेतृत्वमा जाने कि सवै युवा नेताहरुलाई मन्त्री बनाउने भन्ने छलफल चलिरहेको छ ।
जसपाबाट महतोसहित नेताहरु शरदसिंह भण्डारी,अनिल झा,राजकिशोर यादव, उमाशंकर अरघरिया र रेणुका गुरुङलगायत मन्त्री बन्ने सुचीमा छन् । राजकिशोरको हकमा नेता महतोले विरोध जनाएको बुझिएको छ ।




प्रतिक्रिया