काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गर्नु आफ्नो रहर नभएर वाध्यता भएको बताउँदै यसको कारण नेकपाकै आफूविरोधी नेता भएको जिकिरसमेत गरे ।
उनले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको समेत प्रष्ट्याए । उनले सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई असहयोग गरिएको जनाए । जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै भएको उनले दाबी गरे ।
उनले केपी ओली केही होइन भन्नेलाई लोकप्रियता जाँच्ने अवसर दिएको समेत जिकिर गरे । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गरेका हुन् । अब निर्वाचनका लागि तयार रहन आग्रह गर्दै उनले झस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरे ।




प्रतिक्रिया