ओली- प्रचण्ड निरन्तर छलफलमा


काठमाडौं – पार्टीका दुई अध्यक्षले नै नेकपाको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन्। जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन।

एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन्। कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो।

ढिलोमा पुस मसान्तसम्म ठोस प्रस्ताव तयार पारिसक्न म्यान्डेट पाएको कार्यदलले २२ माघसम्म पनि प्रतिवेदन बुझाउन नसकेपछि सचिवालय बैठकले प्रगति विवरणसहतिको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा माघ २५ मा कार्यदलले थप ७ दिन समय माग गर्ने गरी अहिलेसम्म भएका सहमतिको विवरणसहितको प्रतिवेदन बुझाउने निर्णय गरेको थियो।

कार्यदलले थप समय मागेको थियो। तर पनि दुई अध्यक्षले कार्यदललाई समय दिन चाहेनन्। कार्यदलको प्रतिवेदन बुझिसकेका ओली–दाहालबीच अहिले छलफल भइरहेको छ। केही दिनयता लगातारको छलफलले कार्यदललाई समय नदिई आफंै कार्यदलको रिपोर्टमा आधारित भएर प्रस्ताव तयार पार्न उनीहरू गृहकार्यमा लागेका हुन्।

पुस १३ को स्थायी समिति बैठकले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, वेदुराम भुसाल र रघुवीर महासेठ रहेको चौथो कार्यदल बनाएको थियो।

नेकपा अध्यक्ष दाहालले अब कार्यदलकै प्रतिवेदनलाई टेकेर दुई अध्यक्षको छलफलबाट प्रस्ताव तयार पार्ने र त्यसलाई सचिवालय र स्थायी समितिमा लगेर छिट्टै एकताको काम टुंगो लगाउने बताएका छन्। दाहालले शनिबार धादिङको कार्की गाउँ माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा भने, ‘कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनलाई प्रस्ताव बनाएर सचिवालय र स्थायी समितिमा प्रस्तुत गर्ने र छिट्टै एकता प्रक्रिया टुंग्याउने गरी हामी दुई अध्यक्ष छलफलमा छौं।’

ओली–दाहालबीच शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। दुवै नेताबीच माघ २७ यता दैनिक जसो छलफल भइरहेको छ। ‘अध्यक्षद्वय दैनिकजसो कुनै न कुनै समय निकालेर छलफलमा बसिरहनुभएको छ’, प्रधनमन्त्रीको निजी सचिवालयले भन्यो, ‘शनिबार पनि दुई अध्यक्षबीच पार्टी एकताको बाँकी काम कसरी टुंग्याउने भन्ने प्रस्ताव तयार पार्न छलफल भएको छ।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement