काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेपछि नेकपाकै प्रदेश सांसद चर्काचर्कीमा उत्रिए । नेकपा प्रदेश संसदीय दलको बैठकबाट सचिवालयको निर्णय अनुमोदन नभएपछि प्रदेशका नेताहरू अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काठमाडौं आए । सचिवालयको निर्णयप्रति असन्तुष्ट सांसदले समेत अध्यक्षद्वयसँग छलफल गरे ।
चरण–चरणका छलफलको एउटै निष्कर्ष निस्कियो – पार्टी केन्द्रको कडा निर्देशन स्थायी राजधानी हेटौंडा राख्ने नै हो । पार्टी केन्द्रको निर्देशन कार्यान्वयन गराउनु नेकपाका सबै प्रदेशसभा सदस्यको राजनीतिक जिम्मेवारी हुने सन्देश प्रवाह गरिएको छ । पार्टीभित्र जेसुकै सन्देश प्रवाह भएपनि खुला बहसमा प्रदेशको उत्तरी क्षेत्रका सांसदले प्रदेश राजधानी काभ्रे हुनुपर्ने मत राखिरहेका छन् । प्रशासनिक सुगमताका हिसाबले हेटौंडा सुदूर दक्षिणमा परेको अधिकांश प्रदेश सांसदको मत छ ।
नेकपा सचिवालय बैठकले सुरू गराएको प्रदेश राजधानीको बहस प्रदेश सभाभित्र समेत सुरू भएको छ । प्रदेशसभा बैठकको कार्यसूचीमा राजधानीको विषयले प्रवेश पाएको छ भने यस विषयमा सांसदहरूले धारणा राखिरहेका छन् ।
बिहीबारको बैठकमा सांसदले प्रदेश राजधानीबारे चर्काचर्का धारणा र तर्क राखेका छन् । प्रदेशसभा बैठकमा हेटौंडा र काभ्रेको पक्षमा सांसदहरू विभाजित भएका छन् । सांसद रवीनप्रसाद पाण्डेले पार्टीको निर्देशन अनुसार नभई संविधानले दिएको अधिकार अनुसार प्रदेशले नै राजधानी र नाम तोक्नुपर्ने बताए ।
‘भौगोलिक सुगमता, औचित्य सामर्थ्य, सबै दृष्टिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौंडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे नै राजधानीका लागि उपयुक्त हुन्छ,’ उनले भने । पार्टीको निर्देशन मान्दै अपायक ठाउँलाई राजधानी घोषणा गरेमा प्रदेशका १० जिल्लाले छुट्टै राजधानी घोषणा गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले काभ्रेमा प्रदेश राजधानी तोक्नुपर्ने उनले बताए । सांसद प्रेमबहादुर पुलामीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गरे ।
‘नुवाकोटलाई प्रदेशको राजधानी बनाउनु उपयुक्त हुन्छ,’ सांसद केशवराज पाण्डेले भने, ‘नुवाकोटा आफ्नो घर भएर मात्र नभइ काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्छ ।’ सांसद ओमबहादुर घलानले प्रश्न गरे, ‘राजधानीका लागि बीच भाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ?’ सबैले हेटौंडालाई नै मन पराएकाले हेटौंडा नै राजधानी हुनुपर्ने उनको तर्क छ ।
सांसद राजेन्द्र गुरुङले प्रदेश सरकारले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी केही नतिजा दिन नसकेको बताउँदै अब काभ्रेलाई प्रदेश राजधानी तोक्नुपर्ने बताए । सांसद मुनु सिग्देलले दुईतिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गरिन् । सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्नुपर्ने आधार समेत प्रदेश सभामा पेश गरे । ‘संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुन्छ,’ उनले भने, ‘६० लाख जनसंख्यामध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौंडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुन्छ ।’
सांसद केशवप्रसाद पोखरेलले प्रदेश राजधानी काभ्रे उपयुक्त हुने बताए । सांसदहरूले बोल्ने क्रम अझै जारी रहेकाले प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सार्वजनिक अभिव्यक्ति दिँदा विभाजित भएका नेकपाकै सांसद मतदान प्रक्रियामा एक हुन्छन् कि हुँदैनन् भन्ने विषय अझै अन्योल छ । नेकपा प्रदेश संसदीय दलको बैठकले औपचारिक निर्णय गर्न सकेको छैन ।
प्रदेश सभामा नेकपा सांसदको दुईतिहाइ बहुमत रहेकाले नेकपाभित्र एकरुपता भए पार्टी निर्देशन अनुसार नै हेटौंडा राजधानी हुनेछ । कतिपय सांसदले पार्टी निर्देशनभन्दा पनि जनभावना अनुसार मतदान गर्ने दाबी गरिरहेकाले ठूलो संख्यामा पार्टी ह्वीप उल्लंघन भए काभ्रेका पक्षमा आवश्यक बहुमत आउनसक्ने सम्भावना पनि रहेको जानकारहरू बताउँछन् ।
प्रदेश सांसदको स्वविवेक र क्षमताले मतदान गर्दा प्रदेश राजधानीबारे जेसुकै निर्णय समेत हुनसक्ने भएकाले सबै क्षेत्रका जनता आफ्नै सहज हुने ठाउँमा राजधानी हुने विश्वासमा छन् । नेकपाले हेटौंडा राजधानी बनाउने निर्णय गरेको र सांसदले विद्रोह गर्ने चेतावनी दिइरहेको बेला प्रदेशवासी जनतामा सन्नाटा समेत देखिएको छ । प्रदेशवासीले प्रदेश सभाको मतदान प्रक्रियाको प्रतिक्षा गरिरहेका छन् ।




प्रतिक्रिया