राप्रपा अध्यक्ष लिङ्देनमाथि खनिए ओली, प्रचण्ड र माधव

राप्रपा अध्यक्ष लिङ्देनमाथि खनिए ओली, प्रचण्ड र माधव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तिन दलका नेताहरुले आक्रोश पोखेका छन् । शुक्रबार कांग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले गाउँ घरमा नेताहरु गएपछि जनताले चोर आएको भन्ने बताएका थिए ।

लिङ्देनले राजसंस्थाको वकालत र नेतालाई चोर भन्ने गरेको अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल उनीविरुद्ध खनिएका हुन् । एमाले अध्यक्ष ओलीले भने, ‘ नयाँ नयाँ अध्यक्ष भएकाले राप ताप चढेको होला । त्यसैले बोल्न नआएको नहोला । बिस्तारै सेलाउँदै जानेछ ।’

प्रचण्डले पनि लिङ्देनकाे साे भनाई प्रति आपत्ति जनाएका छन् । ‘एक जनाले भन्नुभयो, नेता आउँदा चोर आयो भन्छन् । के त्यस्तो हो त ? होइन, गलत हो,’ प्रचण्डले भने, ‘यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्यूँताउने षड्यन्त्र हो भनेर बुझिन्छ ।’ त्यसैगरी नेकपा (एस) अध्यक्ष नेपालले पूर्वराजालाई राजनीतिमा आउने भए पार्टी खोलेर आउन नत्र व्यवसाय गर्न सुझाव दिएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले पूर्व राजालाई पार्टी खोल्न चुनौती दिएका हुन् । अध्यक्ष नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । उनले भने, ‘सावधान ! देशमा कालो मादल मडारिएको छ ।’ राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिएका छन् ।