काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
आज भएको भेटमा उनीहरुबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय प्रचण्ड र ओली निरन्तर छलफलमा जुटेका छन् । तर , यी दुई नेताबीच राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सहमति जुट्न सकेको छैन् ।
अध्यक्ष ओलीले गत पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राखेका छन् । ओलीले राष्ट्रपति निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र एमालेको उम्मेदवार नै निर्वाचित हुने दाबी गर्दै आएका छन् । यता प्रचण्ड भने गत पुस १० गतेको सहमतिबाट पछि हटिसकेका छन् । उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने माग राखेका छन् ।
त्यस कारण ओली र प्रचण्डबीच यसबारे सहमति जुट्न सकेको छैन् । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।
गत पुस १० गते प्रधानमन्त्रीमा ओलोपालो गर्ने र राष्ट्रपति नेकपा एमालेलाई दिने यी दुई नेताबीच सहमति भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।




प्रतिक्रिया