काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागि मन्त्रीसँग छलफल गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसका १० जना मन्त्रीसँग आज सामूहिक छलफल गरेका हुन् ।
यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण पनि स्थगित भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको हो। संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुन उनी आज राति त्यसतर्फ प्रस्थान गर्ने भएका थिए । तर, परराष्ट्रमन्त्री साउदको फिनल्याण्ड भ्रमण एकाएक स्थगित भएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेससँग असन्तुष्ट छन् ।
कांग्रेसले आफूलाई फाइदा हुने काम मात्रै गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड कांग्रेसप्रति रुष्ट बनेका हुन् । त्यस्तै राष्ट्रियसभा अध्यक्ष पद कसले लिने भन्नेबारे कांग्रेस र माओवादीबीच सहमति भएको छैन । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेसँग सहकार्यका लागि छलफल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका नेताहरुले पनि प्रचण्डलाई एमालेसँग सहकार्य गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
सत्ता सहकार्यका लागि ओली र प्रचण्डबीच पटक पटक भेटवार्ता भइरहेको छ । एमालेसँग सहकार्य गरेपछि आफ्नो कार्यकाल पनि लम्बिने र ०८४ को निर्वाचनमा बढी सिट जित्न सहज हुने प्रचण्डको बुझाइ छ । त्यसकारण प्रचण्ड हालको सत्ता गठबन्धनबाट अल्गिएर नेकपा एमालेसँग नयाँ गठबन्धन गर्ने तयारीमा छन् । यसका लागि ओली र प्रचण्डबीच सोमबार निर्णायक छलफल हुने स्रोतले बताएको छ ।




प्रतिक्रिया