काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय निरन्तर छलफलमा जुटेका छन् । राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली निरन्तर छलफलमा जुटेका हुन् ।
निरन्तर छलफलमा जुटेपनि यी दुई नेताबीच सहमति भने जुट्न सकेको छैन । अध्यक्ष ओलीले पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने माग राखेका छन् । यता प्रचण्ड भने पुस १० को सहमतिबाट पछि हटिसकेका छन् । उनले नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा समर्थन नगर्न राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् ।
यसैबीच आइतबार राति नेपाली कांग्रेसका शिर्ष नेताहरुसँगको भेटवार्तामा प्रचण्डले राष्ट्रपति निर्वाचनमा एमालेलाई समर्थन नगर्ने समेत आश्वासन दिए । कांग्रेस जसरी भए पनि आफ्नो पार्टीको नेतालाई राष्ट्रपति बनाउने दाउमा छ । नेपाली कांग्रेसलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको थियो ।
विश्वासको मत दिनु अघि प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने समझदारी समेत भएको खुलेको छ । पछिल्लो समय प्रचण्ड कांग्रेस तिर नजिकिन थालेपछि ओलीले ‘प्लान बी’ बनाएका छन् । पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने अध्यक्ष ओलीको पहिलो रणनीति थियो । त्यो रणनीति पुरा हुने अवस्था नदेखिएपछि ओलीले ‘प्लान बी’ बनाएका हुन् ।
ओलीले नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । उनले नेकपा एसलाई नेकपा एमालेमा गाभ्ने शर्तमा माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति बनाएका हुन् । माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए प्रधानमन्त्री प्रचण्डले पनि साथ दिने ओलीको आँकलन छ ।
ओलीले आइतबार नेपालसँग यस विषयमा छलफल गरेका छन् । आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको हो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्। यदि माधव नेपालले सो प्रस्ताव स्वीकार गरेको खण्डमा ओलीको ‘प्लान बी’ सफल हुने देखिएको छ ।
आइबार राति नेपाली कांग्रेसका शिर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको सुचना पाएको बताएका थिए । ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसैमा राष्ट्रिय सहमति गर्नुपर्ने प्रचण्डले कांग्रेस नेताहरुलाई भनेका थिए ।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। १३ गते उम्मेदवारी मनोनयन हुनेछ।




प्रतिक्रिया