ओली–प्रचण्डबीच आज पनि छलफल हुँदै

ओली–प्रचण्डबीच आज पनि छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुँदैछ । छलफल आज साँझ हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड पक्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा पछिल्लो समय विवाद चर्किएको छ । पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका शीर्ष नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन । गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै पछिल्लो पटक निरन्तर भएको छलफलमा छलफलमा बरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी हुँदै आएका छन् ।

यसअघि मंगलबार भएको छलफलका क्रममा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । त्यस्तै छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक बोलाउन जोड दिएका थिए भने ओलीले पहिला सचिवालय बैठक राखेर मात्र स्थायी कमिटी बस्नुपर्ने बताएका थिए ।

साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।