ओलीको त्यो फोनले जुराएको ‘रअ’ प्रमुखको भ्रमण : नेपाललाई चीनबाट अलग्याउने कोशिसमा भारत

ओलीको त्यो फोनले जुराएको ‘रअ’ प्रमुखको भ्रमण : नेपाललाई चीनबाट अलग्याउने कोशिसमा भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  गत अगस्त १५ अर्थात् साउन ३१ गते भारतको ७४ औं स्वतन्त्रता दिवस थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर शुभकामना दिए ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘स्वतन्त्रता दिवसका अवसरमा आज गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरूपमा प्राथमिकतामा राखिएको बताउनुभएकोमा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो । नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो ।’

प्रेस विज्ञप्तिको अन्तिम अनुच्छेदमा लेखिएको थियो, ‘द्विपक्षीय सम्बन्धका विषयको छलफललाई भविष्यमा पनि निरन्तरता दिन दुवै प्रधानमन्त्री सहमत हुनुभयो ।’ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतको अनाधिकृत दाबीका कारण उत्पन्न विवादबीच भएको यसै टेलिफोन वार्ताले नेपाल–भारत सम्बन्धमा थप छलफल चलाउने प्रक्रिया अगाडि बढायो ।

नेपाल–भारत छलफललाई निरन्तरता दिने भनिएपनि त्यसका लागि के गर्ने भन्ने सार्वजनिक वक्तव्यमा खुलाइएको थिएन । तर हालै भएको भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण त्यतिबेलै तय भएको प्रधानमन्त्री ओली निकट कूटनीतिक स्रोतले जनाएको छ । दुवै प्रधानमन्त्री ओली–मोदीबीच भएको टेलिफोन वार्ताको २ महिनापछि रअ प्रमुख गोयल काठमाडौं ओर्लिएर ओलीसँग वार्ता गरी फर्किएका छन् ।

यसबीच भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा असोज १ गते ट्वीटरमा शुभकामना सन्देश लेख्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई ! म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा २ देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

भारतका रक्षामन्त्री राजनाथ सिंहले गत बैशाख २६ गते नेपाली भूमिमा भारतले बनाएको लिपुलेक भञ्ज्याङ सडक परियोजना उद्घाटन गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुग्यो । भारतीय अतिक्रमणको जवाफ स्वरूप नेपालले जेठ ७ गते नयाँ नक्सा सार्वजनिक ग¥यो । त्यसपछि संविधानमा भएको निशान छापको नक्सा संशोधन विधेयक जेठ ३१ गते प्रतिनिधि सभाबाट दुईतिहाइभन्दा बढी मतले पारित भयो । नेपालमा भएका यी गतिविधिबाट भारत चिढिएको थियो । तर साउन ३१ गतेको त्यो टेलिफोन वार्ताले सम्बन्ध सुधारको बाटो खोल्यो ।

‘रअ’ प्रमुखले के गरे कुराकानी ?

पूर्व निर्धारित योजना अनुसार रअ प्रमुख गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै पसेर ओलीसँग भेटवार्ता गरेका छन् । ओली–गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत रहेको तर्क–वितर्क भइरहेको छ । तर भेटवार्तामा के कुरा भयो ? भारतले गुप्तचर प्रमुखलाई नै पठाएर नेपाललाई के सन्देश दियो ? यी विषयबारे खासै विमर्श भएको देखिँदैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रेस नोट’ जारी गर्दै रअ प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा’ धारणा राखेका जानकारी दिए । नेपालसँग सम्बन्ध सुधार्ने गरी भएको रअ प्रमुखको भ्रमणका पछाडि भारतको कुनै स्वार्थ छैन होला त ? यसबारे प्रेस नोटमा केही स्पष्ट पारिएको छैन ।

स्रोतका अनुसार रअ प्रमुखको भ्रमण नेपालसँग सम्बन्ध सुधार्ने सँगसँगै अमेरिका र भारतको रणनीतिक स्वार्थसँग जोडिएको छ । भारत र चीनबीच लद्दाख सीमा क्षेत्रमा विवाद उत्पन्न भएपछि अमेरिका र भारत धेरै नजिकिएका छन् । सीमा विवादका क्रममा भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु समेत भइसकेको छ । सीमा विवाद समाधान हुने कुनै संकेत देखिएको छैन ।

बरु सीमा विवाद बढ्दै जाने देखिएको छ । विवादित क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएकाले सैनिकको सहजताका लागि जाडो मौसममा सीमा क्षेत्रबाट दुवै देशका सैनिक पछि हट्ने समझदारी भएपनि हालसम्म कुनै पनि देशका सैनिक पछि हटेका छैनन् । बरु दुवै देशले सीमा क्षेत्रमा सैनिकको संख्या र स्रोतसाधन थप गर्दै लगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबीच भारतमा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउनेदेखि चीनले आफू अधिनस्थ ठान्ने ताइवानसँग भारतले अलग्गै देशको रूपमा छुट्टै कूटनीतिक सम्बन्ध राख्नुले चीन चिढिएको छ । सीमा र व्यापार विवाद अझै बढ्ने देखिएको छ । चीनसँग विवाद हुनुअघि भारतले अमेरिका र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्ने गरेको थियो । तर अब भारत स्पष्ट रूपमा अमेरिकी कित्ता गएको छ भने अमेरिकी गठबन्धनसँगको योजनामा सक्रियता देखाउन थालेको छ । जुन गठबन्धनमा नेपाललाई समावेश गराउन र नेपाललाई चीनसँग टाढा गर्ने योजना अनुसार रअ प्रमुख गोयलको भ्रमण भएको स्रोतले जनाएको छ ।

दक्षिण एसियामा भारतको प्रभाव बढाउने अमेरिकी रणनीति

पछिल्ला केही वर्षयता दक्षिण एसियामा भारतको प्रभाव घट्दै गएको छ । विश्वशक्ति बन्ने दौडमा रहेको चीनले दक्षिण एसियामा कब्जा जस्तै जमाउँदै गएको छ । भारतसँग भौगोलिक रूपमा नजिक रहेका देशहरू पाकिस्तान, नेपाल, अफगानिस्तान, बंगलादेश र भुटानमा चीनको प्रभाव बढेको छ । यस्तो बेला अमेरिकी आडमा भारत आफ्नो प्रभाव बनाउन सक्रिय भएको छ ।

पाकिस्तानसँग भारतको पुरानै विवाद रहेकाले त्यहाँ सम्बन्ध सुधारको प्रयास नहुने भएपनि अन्य देशसँग सम्बन्ध सुधार्न भारतले सक्रियता देखाएको छ । यसै मिसन अन्तर्गत ‘रअ’ प्रमुख गोयल बंगलादेश, भुटान, श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन् । नेपालपछि अफगानिस्तान जाने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

दक्षिण एसियाका देशहरूमा बिग्रिएको भारतको सम्बन्ध सुधार्ने र प्रभाव बढाउने मिसनमा अमेरिका नेतृत्वको क्वाडरील्याट्रल सेक्युरिटी डायलग (क्वाड) ले सघाइरहेको छ । ४ देश सम्मिलित क्वाडमा अमेरिका, जापान, अस्ट्रेलिया र भारत सदस्य छन् । क्वाडको उद्देश्य सामरिक, सुरक्षा, कूटनीतिक र आर्थिक क्षेत्रमा सहकार्य गर्ने तथा चीनको बढ्दो प्रभावलाई रोक्ने रहेको छ । क्वाडका उद्देश्य पूरा गर्ने जिम्मेवारी दक्षिण दक्षिण एसियामा भारतको काँधमा छ ।

अमेरिकाले दक्षिण एसियामा लागू गरेको इन्डो–प्यासफिक रणनीति (आईपीएस) को उद्देश्य पनि क्वाडसँग मिल्छ । रणनीति अन्तर्गत भारतलाई मुख्य साझेदारको रूपमा अमेरिकाले लिएको छ । नेपालमा विवादित भएको एमसीसी परियोजना पनि इन्डोप्यासफिक रणनीति अन्तर्गतकै हिस्सा भएको कतिपय अमेरिकी अधिकारीले स्पष्ट पारिसकेका छन् ।

अमेरिकाले आफ्ना रणनीति भारतमार्फत दक्षिण एसियामा लागू गराउने र भारतलाई सक्रिय पार्ने योजना अगाडि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणनीति कार्यान्वयनका लागि सम्झौता गर्न आगामी अक्टुबर २७ तारिखका दिन अमेरिकी विदेशमन्त्री माइक पोम्पीओ र रक्षामन्त्री माइक एस्पेर भारत भ्रमणमा आउँदैछन् । अमेरिकाका दुवै मन्त्रीसँग भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले गुप्तचर सूचना आदानप्रदान सहकार्यमा सम्झौता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशबीच सम्झौता भएपछि अमेरिकी रणनीति दक्षिण एसियामा झन् जबरजस्त रूपमा अगाडि बढ्नेछ, जसको नेतृत्व भारतले लिने जनाइएको छ ।

आगामी नोभेम्बर ४ तारिखका लागि क्वाड सदस्य राष्ट्रबीच इन्डियन ओसन र इन्डोप्यासफिक रिजनमा ठूलो सैन्य अभ्यास समेत हुँदैछ । जसमा जापान, भारत, अस्ट्रेलिया र अमेरिका सहयागी हुँदैछन् । सैन्य अभ्यास गरेर चीनलाई शक्ति र मजबूत सहकार्य भएको देखाउन खोजिएको अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका जानकार बताउँछन् ।

क्वाड सदस्य राष्ट्रहरूबीच विश्व व्यापारमा प्रभूत्व जमाउन ‘अल्टरनेटिभ सप्लाई चेन’ निर्माण गर्ने विषयमा समेत सहकार्य अगाडि बढेको छ । यसका लागि दक्षिण एसियाको बजारमा भारतले सक्रियता बढाउनुपर्ने हुन्छ । विश्वव्यापी ध्रुवीकरणसँगै मुख्यगरी सुरक्षा र व्यापारको विषयमा भारतले छिमेकी राष्ट्रसँग चासो बढाएको छ । रअ प्रमुख गोयलको नेपाल भ्रमण यसै सिलसिलाको शुरूआती प्रयास भएको बालुवाटार स्रोतले जनाएको छ । अमेरिकामा निर्वाचन चलिरहंदा अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री सबैभन्दा पहिला भारतको भ्रमणमा आउंदैछन् ।

त्यसपछि उनले अन्य एसियाली मुलुकहरुको भ्रमण गर्ने तयारी गरेका छन् । यो अवधीमा इण्डो प्यासेफिक रणनीतीअन्तर्गतको साझेदारी अझ बलियो बनाउने नीति अमेरिकाको छ ।श्रीलंका,वंगलादेश,इण्डोनेशिया,माल्दिभ्स र भुटानलगायतका देशमा बढ्दो चिनियां प्रभावलाई कम गर्नका लागी पछिल्लो समय अमेरिका र भारतको बीचमा रणनीतिक साझेदारी हुने संकेत प्रष्टै मिलेको छ ।

अमेरिकी विदेश र रक्षामन्त्री दक्षिण एसियाका अन्य मुलुकको भ्रमणमा आउंन लागेका भएपनि नेपालको भने उनले भ्रमण गर्ने कुनै कार्यसुची छैन् । यसले पनि पहिलेझै भारतमार्फत उसले नेपाललाई डिल गर्न खोजेको संकेत मिल्छ । अमेरिकी सक्रियतासंगै भारत पनि त्यसमा उत्साहित भएर छिमेकीहरुसंगको सम्बन्ध समुधुर गर्ने प्रयत्नमा लागेको देखिन्छ ।

नेपालबाट के चाहन्छ भारत ?
अन्तर्राष्ट्रिय ध्रुवीकरण तीव्र भइरहेको बेला नेपाल–भारतबीच देखिएको सीमा विवादलाई भारतले सामान्य रूपमा लिएको छ । भारत उपयुक्त र आवश्यक समयमा सीमा विवादलाई अन्त्य गर्न सहमत भइसकेको सन्देश रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई दिइसकेका छन् । तर त्यसका लागि प्रधानमन्त्री ओलीले समेत भारतलाई केही विषयमा सहयोग गर्नुपर्ने भारतको शर्त उनले राखेको स्रोत बताउंछ ।

सीमा विवाद अन्त्य गर्ने विषयमा आगामी आम निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारतबीच टुंगो लाग्नेछ । जसबाट प्रधानमन्त्री ओलीलाई निर्वाचनमा लाभ मिल्ने, राष्ट्रवादी छवि मजबुत हुने तथा छिमेकसँग सम्बन्ध विस्तार गर्न र नेपाली भूमि फिर्ता गर्न सफल भएको प्रधानमन्त्रीको छवि बन्ने भएकाले निर्वाचनअघिको साइतलाई रोजिएको स्रोतले जनाएको छ ।

रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग मुख्यगरी २ कुरा राखेका छन् –

१. चीन र भारतबीच विवाद बढिरहेका बेला नेपालको आफ्नो कित्ता स्पष्ट गर्दै भारतलाई सघाउनुपर्नेछ । हामी २ देशबीच रहेका सानातिना विवाद र समस्या छलफलबाट समाधान गरिनेछ ।
२. नेपालमा पछिल्लो समय चीनको प्रभाव बढिरहेकाले यो स्वीकार्य छैन । नेपालमा चीनको प्रभाव बढ्दा भारतलाई सुरक्षा खतरा हुन्छ । अमेरिकालाई पनि मन त्यो मन परेको छैन् । तसर्थ नेपालको चीनसँगको सम्बन्धलाई नियन्त्रण गर्नुपर्छ । अमेरिका र भारत मिलेर नेपाललाई आवश्यक सहयोग गर्न तयार छन् ।

रअ प्रमुख गोयल प्रधानमन्त्री मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग नजिक छन् । उनी प्रधानमन्त्री मोदीका दूत भएर बालुवाटार आएका स्रोतले जनाएको छ । गोयलको भ्रमण टोलीमा शशीभुषण तोमर र अरुण जैन समेत सहभागी थिए । तोमर यसअघि बंगलादेशका रअ प्रमुख रहेर हाल दिल्लीको मुख्यालयमा नेपाल हेर्ने प्रमुख छन् । जैन भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा रअको नेपाल स्टेसनका उपप्रमुख थिए । यी दुवै व्यक्ति गोयलको भ्रमण दलमा सहभागी हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग राखेका विषयमा सोच्ने, पुनर्विचार गर्ने र टुंगोमा पुग्ने गरी छिट्टै राजनीतिक स्तरको भ्रमण समेत हुने जनाइएको छ । ‘चाँडै नै नेपाल–भारतबीच राजनीतिक स्तरमा भ्रमण र वार्ता हुनेछ । गृहमन्त्री, परराष्ट्र वा प्रधानमन्त्रीको भ्रमण हुने तयारी भइरहेको छ । दुवै देशबाट भ्रमण आदान प्रदान हुनेछ ।,’ स्रोतले भन्यो । राजनीतिक स्तरको भ्रमणपछि रअ प्रमुखको भ्रमणका एजेन्डा टुंगोमा पुग्ने स्रोतले जनाएको छ ।

अमेरिकी सहयोगको एमसीसी परियोजना समेत लामो समयदेखि संसदमा विचाराधीन छ । ओली एमसीसी पारित गर्ने पक्षमा छन् । तर नेकपाभित्रको विवादका कारण एमसीसी अगाडि बढ्न सकेको छैन । एमसीसीको पक्षमा रहेका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाएर पठाइएको छ । रअ प्रमुखको भ्रमण हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । यसरी प्रधानमन्त्री ओलीले अमेरिका–भारत गठबन्धनसँग सहकार्य गर्न चाहेको सन्देश दिएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।