काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको जिकिर गरेका छन् ।
‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, उनले ओलीलाई बुझाएको ९ पन्ने स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो ।
गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरू अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो,’ उनले पत्रमा भनेका छन् ।
स्पष्टीकरणसहितको जवाफ दिँदै पाण्डेले फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधान अनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुने बताएका हुन् । ‘पार्टीको एकता जोगाउन पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुको कुनै विकल्प छैन । फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधानअनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुनेछ ।’
ओलीले गुट भेला गरेर पार्टी विभाजन गर्न खोजिएकाले आफूहरुले पार्टीको रक्षाका लागि राष्ट्रिय भेला गरेको उनको भनाइ छ । सरकारको असफलतापछि संसद विघटनजस्तो असंवैधानिक कदम चालेर यी सबैको भारी यो पार्टी र आन्दोलनलाई बोकाउनुका साथै ओलीले त्यतिले नपुगेर अझै पार्टी विभाजन गर्न खोज्नु रहस्यमय भएको पाण्डेको भनाइ छ ।




प्रतिक्रिया