काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको बुझिएको छ ।
प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बहुमतिय सरकार बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको स्रोतको दावी छ । प्रधानमन्त्री ओली सोमबार प्रतिनिधीसभामा विश्वासको मत लिन असफल भएपछि विपक्षी दलहरु र प्रधानमन्त्री ओली नयां सरकार गठनको लागी छलफलमा जुटेका छन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेस,माओवादी केन्द्र र जसपाकै उपेन्द्र यादव नेतृत्वको समुह नयां सरकार गठनको लागी छलफलमा जुटिसकेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने नयां सरकार बन्न नसक्ने निष्कर्शमा पुगिसकेको बताइन्छ ।
उनले मंगलबार बसेको पदाधिकारी बैठकमा एमालेभित्रको माधव नेपाल समुहका सांसदले राजीनामा नदिंदा र जसपा एक ढिक्का नभएको अवस्थामा नयां सरकार बन्न कठिन भएको विफ्रिंग नेताहरुलाई गरेका थिए ।
यता प्रधानमन्त्री ओली र ठाकुरबीच साना दलको सहयोग लिएर बहुमतको सरकार बनाएर जाने विषयमा छलफल चलिरहेको छ । छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो समेत सहभागी छन् ।




प्रतिक्रिया