पोखरा – गृहमन्त्री ओमप्रकाश अर्यालले नागरिक स्तरबाट बनेको गैरदलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा संगठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गरेका छन् ।
सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन मन्तव्य दिँदै मन्त्री अर्यालले भने, ‘हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले विशेषगरी अहिलेको नव पुस्ताले चाहेको खोजेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।’
जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमी–कमजोरीले नै यो अवस्था सिर्जना भएको उनले बताए । ‘सुशासन कायम गर्न सकिएन र फेरि फेरि यस्तै आन्दोलन भयो भने कुनै पनि निर्वाचित दल वा शक्तिले लिएर आउने ४ वर्षे म्यान्डेट वा कुनै त्यस्ता म्यान्डेटले यो समाजमा अर्थ राख्दैन,’ मन्त्री अर्यालले भने, ‘त्यसैले त्यस्ता म्यान्डेट बिचैमा भंग हुनसक्छ भन्नेतर्फ सबैले बुझ्नुपर्छ ।’
सुशासन कुनै पनि विषयमा सम्झौता गर्ने विषय नभएकाले यस्ता कुनै पनि आन्दोलनले राष्ट्रको भविष्य नै खतरामा पर्ने सक्नेतर्फ सबै सजग हुनुपर्ने बोध जेनजी आन्दोलनले उजागर गरिदिएको उनले बताए । ‘सेवा प्रवाह राम्रो भएन, भ्रष्टाचार भइरह्यो, सुशासन कायम हुन सकेन भने विद्रोहका स्वर र शक्ति जुन कुनै रूपमा प्रकट हुने रहेछ भन्नेतर्फ पनि सबैले बुझ्नुपर्ने कुरा हो,’ उनले भने ।
‘अब पनि यो वा त्यो बहानामा जेनजी पुस्ताको जनआन्दोलन र सडक संघर्षलाई नजरअन्दाज र अवमूल्यन गर्ने हो भने पुन: त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न सकिन्न,’ मन्त्री अर्यालले भने । यसै जनआन्दोलनले गर्दा नै अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने समेत उनले बताए ।




प्रतिक्रिया