काठमाण्डु – सरकारले ओम्नी विजनेश कर्पोरेशन इन्टरनेसनललाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार एक सूचना जारी गर्दै कोभिड-१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप लागेको ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री खरिद समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्ध गरेको थियो ।
विभागले गत चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेको थियो । विभागले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामाग्री विभिन्न लटमा ल्याउनुपर्ने सम्झौता गरेको थियो ।
ओम्नीले चिकित्सकले लगाउने पिपिई, एन–९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क, र्यापिड टेस्ट किट ल्याउनुपर्ने थियो । तर, बिना प्रतिष्पर्धा दिइएको उक्त ठेक्का सम्झौताअनुसार ओम्नीले सामाग्री ल्याउन असफल भएको थियो ।
ओम्नीले समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि नेपाली सेनाले ठेक्का पाएको थियो । सेनाले चीनबाट जिटूजीमार्फत स्वास्थ्य सामाग्री ल्याएको थियो ।





प्रतिक्रिया