नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् ।
मन्त्रिपरिषद्को यहीँ पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल ४ वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।
अवलोकनका क्रममा मन्त्री अर्यालले अब बालबिज्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताए । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरूसँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र परेका समस्याबारे सुनेका थिए ।
सोही क्रममा मन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवासुविधाबारे चासो राखेका थिए । अवलोकनपछि मन्त्री अर्यालले कैदीबन्दीहरूको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानूनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिए ।
कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको अवगत गराउँदै यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिबद्धता पनि मन्त्री अर्यालले व्यक्त गरे ।
नुवाकोटको विदुरमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा ५०० जना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिनेछ । नुवाकोटको ३ वटा ब्लकमा कात्तिक महिनाको मस्केबारी अनुसार ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन् भने खाली रहेको एउटा ब्लकमा बढीमा ५०० जनाको संख्यामा बालबिज्याइँकर्ता राख्ने सरकारको तयारी छ ।
देशका मुख्य गरी बाँकेको जयेन्दु बाल सुधार गृह, वीरगञ्जको बिर्तास्थित बाल सुधार गृह र भक्तपुरको बाल सुधार गृहमा बेलाबेलामा बालबिज्याइँकर्ताहरूबीच झडप हुने गरेको छ । यसको मुख्य समस्याको रूपमा उनीहरूको बढ्दो उमेर नै रहेको बताइएको छ ।
हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युनिसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।




प्रतिक्रिया