सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो : गृहमन्त्री अर्याल

सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो : गृहमन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।

मंगलबार मोरङको विराटनगर आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ सरकारले काम गरिरहेको बताए ।

गृहमन्त्री अर्याल बुधबार हुने १ दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार यता आइपुगेका छन् । मोरङस्थित बुधनगरमा सन् २०२० बाट सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले धारणा व्यक्त गरे । अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको मन्त्री अर्यालले बताए ।

शान्ति सुरक्षाको प्रत्याभूति विना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकाले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए । १२९ बिगाहामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएको समेत उनले बताए । त्यसका लागि गृह मन्त्रालयले अन्तरमन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत बताए ।

मंगलबारै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुन: मर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गरे । सो क्रममा सीडीओ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरूबारे ब्रिफिङ गरेका थिए ।

मन्त्री अर्यालले मंगलबारै कोभिड–१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गरे । हाल होल्डिङ सेन्टर खाली अवस्थामा सेनाको निगरानीमा छ ।