काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार गोकर्णेश्वरस्थित ‘राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
गृहमन्त्री अर्याल त्यहाँ पुगेर हालसम्म सहिद पार्कमा राष्ट्रले घोषणा गरेका सम्पूर्ण शहीदहरूको नामावली र पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिए ।
अवलोकन भ्रमणका क्रममा मन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका शहीददेखि जेनजी जनआन्दोलनका क्रममा शहीद घोषणा भएका ४२ जना जेनजी सुशासन योद्धा र ३ अमर प्रहरीहरूको शहीदका नाम शहीद पार्कमा राख्नेबारे चासो व्यक्त गरे ।
मन्त्री अर्यालले शहीदबारे गरिएका यसअघिका विभिन्न मन्त्रिपरिषद्का निर्णयसहित हालको जेनजी जनआन्दोलनका क्रममा शाहदत प्राप्त गरेका युवाहरूको समेत सोही पार्कमा नामावली राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापनपत्रलाई अध्ययन गरेर गृह मन्त्रालयले उपयुक्त निर्णय लिने समेत समिति पदाधिकारीलाई जानकारी दिए ।
स्मारक पार्कका व्यस्थापन समितिका अध्यक्ष सिग्देलका अनुसार हाल पार्कमा राज्यले घोषणा गरेका २ हजारभन्दा बढी सहिदहरूको नामवली रहेको तर तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै सञ्चालनको स्पष्ट खाका नभएकाले हाल पार्कको सञ्चालनमा द्विविधा रहेकाले समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।




प्रतिक्रिया