प्रदेश तहबाटै सुरक्षा जोखिमको मूल्यांकन गर्न गृहमन्त्री अर्यालको निर्देशन

प्रदेश तहबाटै सुरक्षा जोखिमको मूल्यांकन गर्न गृहमन्त्री अर्यालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्यांकनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्यांकन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।

मंगलवार गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिबिच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिए ।

छलफलमा गृहमन्त्री अर्यालले कानूनले दिएको अधिकार, व्यवहार र हाम्रा असल अभ्यासलाई समेत मनन् गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरूले निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाका विषयमा जोड दिए ।

सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिकाभन्दा पनि सहजकर्ता, समन्वयकर्ता एवंम उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री अर्यालले भने, ‘तपाईंहरू आफूले प्राप्त गर्नुभएको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र संघबिच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागिपर्नुहोस् ।’

सुरक्षा संयन्त्रहरू चुस्त र मजबुत बनाउनुपर्ने धारणा राख्दै गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा जोड दिए ।

संविधानको मर्मअनुरूप तीनै तहबिच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको आधारमा संघीयतामा सुरक्षाको विषयलाई केन्द्रबिन्दुमा राखेर संघ र प्रदेशको सम्बन्ध, सम्पर्क बढाई असल अभ्यासलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे ।

बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले निर्वाचनमा सुरक्षा संवेदनशीलता, भौगोलिक अवस्था र अन्य विषय र कारण समेत पहिचान गरी विगतको अभ्यास र कमी कमजोरी भए सुधार समेत गरी प्रभावकारी रूपमा सकारात्मक परिणाम देखिने गरी निर्वाचन कमान्ड पोस्टबाट सुरक्षा व्यवस्था मिलाउन ध्यान दिनुपर्नेमा जोड दिए । राजनीतिक दलसँग सहयोग, समन्वय गरी स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ‘प्रोएक्टिभ’ भई कार्य गर्न निर्देशन दिए ।

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, बागमती प्रदेशका बाबुराम अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, कर्णाली प्रदेशका प्रमुख सचिव विरेन्द्र कुमार यादव, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र गृह मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति थियो ।