काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै मात्र सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’लाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिए ।
मन्त्री अर्यालले काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय पुगेर मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग भेट गरी निर्वाचनको तयारीबारे जानकारी लिए । काभ्रेका सीडीओ तथा सुरक्षा निकायका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे मन्त्री अर्याललाई जानकारी गराएका छन् ।




प्रतिक्रिया