काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेका २ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
आईतबार गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरेका थिए । छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठूलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।
आईतबारै गृहमन्त्री अर्याल भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको स्थलगत अनुगमनका लागि पुगेका छन् । माघ ८ गतेको मध्यराति सुधार गृहमा भएको आगजनी र ढुङ्गामुढापश्चात् गृहमन्त्री आईतबार सुधार गृहको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेका हुन् ।
गृहमन्त्री अर्यालले घटनापश्चात् अहिले सो सुधार गृहमा रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नुवाकोटमा रहेको कारागारभित्र रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको छ ।




प्रतिक्रिया