गृहमन्त्री अर्यालद्वारा काठमाण्डु प्रहरी परिसरको अनुगमन

गृहमन्त्री अर्यालद्वारा काठमाण्डु प्रहरी परिसरको अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारी सहितको टोलीले सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डुको अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमन तथा निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले परिसरको सबै शाखाहरूको अनुगमन गर्नुका साथै पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरूसँग सोधपुछ गरे । सोधपुछको क्रममा थुनुवाहरूले आफूहरूले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको व्यहोरा जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताए ।

गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल, मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेल लगायतको टोलीसाथ मन्त्री अर्यालले परिसरको अनुगमन तथा निरीक्षण गर्नुभएको र परिसर हातामा वृक्षरोपण समेत गरेको सहप्रवक्ता आचार्यले बताए ।

अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था तथा आगामी योजना साथै निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराए ।

नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकोले सरकार प्रहरी र नागरिकबिच सहकार्य बलियो भएको बताए ।